काठमाडौं । महोत्तरीमा कृषि उपज बिक्री केन्द्र निर्माण हुने भएपछि किसान उत्साहित बनेका छन् । महोत्तरीको गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने भएको हो ।
कृषि उपज केन्द्र नहुँदा महोत्तरीका कृषकले विभिन्न समस्याहरु झल्दै आएका थिए । जिल्लामै फलफूल (आँप, लिची) र तरकारी उत्पादनको ‘पकेट क्षेत्र’ मानिएको गौशाला नगर क्षेत्रमा उपज भण्डारण र संकलन तथा बिक्री केन्द्र नहुँदा किसानलाई समस्या हुँदै रहेको थियो ।
“न समयमा बीउ, मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, तैपनि जेनतेन बाली उब्जाउँदैछौँ”, गौशाला-४ का ६० वर्षीय चन्द्रमान तामाङले भने, “यसरी उब्जाइएको बस्तुले पनि राम्रो बजार कहिल्यै पाएका थिएनौँ, बल्ल कृषि उपज बिक्री केन्द्र बन्ने भएछ ।” केन्द्र बनिसकेपछि आफ्नो उत्पादन बेच्न र भण्डारण गर्न सहज हुने जनाइएको छ ।
त्यस्तै, किसानले व्यहोरिरहेका समस्यालाई मध्यनजर गरेर नै गौशाला–५ बजार छेउमै मडहा नदीको किनारमा केन्द्र निर्माण गरिन लागिएको गौशालाकाका नगरप्रमुख डा दीपेन्द्र महतोले जानकारी दिए ।
यस केन्द्र निर्माणका लागि सरकारले रु सात करोड ८१ लाख ३४ हजार तीन सय ७६ को ठेक्का बन्दोबस्त गरिसकेको उनले बताए । उनले अबका १८ महिनाभित्र अत्याधुनिक कृषि उपज सेन्टर निर्माण सम्पन्न भइसक्नेछ र यस केन्द्रको निर्माणको ठेक्का बन्दोबस्त पनि लागिसकेको समेत स्पष्ट पारे ।
केन्द्र निर्माणका लागि काठमाडौंस्थित सान्दोर्जे निर्माण सेवाले कार्यादेश पाएको छ । कृषि उपजको व्यापार गर्नेलाई समेत केन्द्र निर्माणले सहज बनाउने नगरप्रमुख डा महतोको भनाइ छ । यस केन्द्र निर्माणले तरकारी र फलफूल किसान बढी लाभान्वित हुने छन् ।
नगरका विभिन्न १२ वडा क्षेत्रका करिब ५० भन्दा बढी बस्ती विभिन्न मौसमी-बेमौसमी तरकारी उत्पादनका लागि उम्दा मानिन्छन् । त्यसैगरी आँप र लिचीसहितका फलफूलको पनि गौशाला नगर क्षेत्र पकेट क्षेत्र रहँदै आएको छ ।
Comments are closed.