किसानलाई मौरीसहितको घार वितरण

तनहुँ ।  तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वाराका किसानलाई मौरीसहितको घार वितरण गरिएको छ । समूहमा आवद्ध ४६ किसानलाई मौरीसहितको घार वितरण गरिएको हो ।

ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत किसानलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी र म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले किसानलाई घार हस्तान्तरण गरे ।

किसानलाई कृषि पेसामा आकर्षित गराउन अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए । मौरीपालनसम्बन्धी स्थलगत तालिम तथा अभिमुखीकरण कार्यक्रममा सहभागी भएका कृषकलाई मौरीसहितको घार अनुदानमा वितरण गरिएको हो । किसानको आयआर्जनमा वृद्धि गराई आर्थिक क्षेत्रमा सबल बनाउन सरकारले अनुदान कार्यक्रमलाई जोड दिँदै आएको छ ।

किसानलाई कुटानी पिसानी, हाते ट्याक्टर, कृषिऔजार, बीउबिजनलगायत ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ । अनुदान दिन थालेपछि पछिल्लो समय व्यावसायिक खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको पाइन्छ । रासस

You might also like

Comments are closed.