नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यु.आर भुक्तानी सेवा सुरु हुँदै

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोन पे र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपिसिआइए) को अन्तर्राष्ट्रिय शाखा ‘एन.आई.पी.यल’बीच सहकार्य भएको छ । यो सहकार्यसँगै नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यु.आर भुक्तानी सेवा सुरु गर्ने समझदारी पनि भएको छ । सेवा सुरु गर्ने साझेदारीको सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको हो । जहाँ हरेक वर्ष फिन्टेक दुरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ ।

फोनपे र एन.आई.पी.यल बीचको सहकार्यले दुबै राष्ट्रका लाखौं नागरिकहरू लाभान्वित हुने विश्वास गरिएको छ । यी दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यु.आर कोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न सकिनेछ ।

उक्त सेवाको लागि दुबै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको विज्ञप्तिमा उल्लेख छ । प्राविधिक एकीकरणको समाप्ति पस्चात यी दुई कम्पनीहरू आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुने बताइएको छ । त्यसपश्चात लाखौं उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्ने विश्वास गरिएको छ । दुई कम्पनीबीचको रणनैतिक साझेदारीले दुवै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा साबित हुने विश्वास गरिएको छ ।

दुवै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा यो समझदारी महत्वपूर्ण कदम भएको फोनपेका सभापति तथा एफ.वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले बताए । ‘म विश्वस्त छु की यस पहलले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ र अन्ततः समृद्धि र विकासलाई बढावा दिनेछ ।’

फोनपे एक भुक्तानी प्रणाली अपरेटर हो जसले अन्तर–बैंक व्यक्ति–देखि–व्यक्ति (पर्सन टु पर्सनः पि टु पि) र व्यक्ति–देखि–व्यवसायी (पर्सन टु मर्चेन्टः पि टु एम) लेनदेनहरू यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरू मार्फत सुविधा दिन्छ । फोनपे, नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटरः पि एस् ओ) को रूपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो र हालपनि राष्ट्र बैंकद्वारा नियमन गरिँदै आएको छ । ‘पि सि आइ डि एस् एस्’ प्रमाणीकरण प्राप्त गर्ने फोनपे, नेपालको पहिलो गैर–कार्ड–आधारित ‘पि एस् ओ’ पनि हो।

You might also like

Comments are closed.