दुुर्गा काफ्लेको पौरख : घरको छतमा ड्रागन फलदेखि कागती खेती

सुशीला रेग्मी

पाल्पा । तरकारी होस् या फलफुल खेती गर्न प्रशस्त जग्गा जमिन नै चाहिन्छ भन्ने छैन । मेहनत र व्यक्तिमा ईच्छा शक्ति भयो भने घरका करेसाबारी, छत, आँगनका छेउमै तरकारी, फलफुल लगाएर घरायसी प्रयोजनका लागि गुजारा चलाउन सकिन्छ ।

घरको छतमा तरकारी खेती भने कुनै नौलो होइन । पछिल्ला वर्षमा शहर बजारका घरमा देख्न सकिन्छ । तर छतमै ड्रागन फल खेती भने रामपुरमा नयाँ अभ्यास हो । पाल्पा रामपुर नगरपालिका ५ स्थित बेझाडखेत बस्ने दुर्गा काफ्लेको घरको छतमा ड्रागन देखि कागती खेती छन् । छतमा लगाएको ड्रागनबाट फल लिइसकेको बताउँछिन् । पहिलो पटक लगाइएको खेतीले उत्पादन राम्रै दिन थालेपछि छतमा पनि ड्रागन राम्रो उत्पादन हुने सम्भावना देखेको उनले बताइन् ।

“विभिन्न सिजनअनुसारका तरकारी त नियमित नै लगाएर उत्पादन राम्रै लिइरहेको छु, ड्रागन लगाउने ईच्छा थियो, नर्सरीबाट विरुवा किनेर लगाउन थालेको एक वर्षमा नै एक बोटमा सातवटा फल उत्पादन भयो” उनले भनिन् ।

एक बोटबाट सुरु गरेको विरुवाले राम्रो उत्पादन दिएपछि छतमा अन्य विरुवा बिस्तार गरेको बताउँछिन् । उनले हिजोआज विरुवा आफैले उत्पादन गरेर छिमेकीलाई ड्रागन खेती सुरु गर्न हौसला दिदै निशुल्क वितरण समेत वितरण गर्ने गरेको उनले बताइन् ।

छतमा यतिबेला कागती, काउली, बन्दा, केराउ, साग लगायतका विभिन्न हरियाली जातका तरकारी छन् । तीनवर्ष देखि उनले तरकारीमा बाहिर बजारमा लगानी गर्नु परेको छैन । उनले रामपुर बेझाड बजारमा मेडिकल पसल सञ्चालन गरिरहेकीछिन् । सिटी मेडिकलको नाममा मेडिकल पसल सञ्चालन गरेकी काफ्लेले मेहनत र जाँगर गरियो भने हरेक क्षेत्रमा सफलता कमाइने उनको अनुुभव छ । काफ्ले आफैले उत्पादन गरेको स्वस्थ तरकारीले निरोगीपन हुने हुदा धेरैले घरमै उत्पादन गरेर जीविका चलाउन सुझाव समेत दिने गर्छिन् ।

“कहिलेकाँही बजारमा नयाँ तरकारी देखियो भने किन्ने गरिन्छ, सिजनअनुसारका तरकारी घरको आँगन, छतमै फलाउँछु, हरियाली तरकारी तथा फलफुल खेतीले रमाईलो भइरहेको छ” काफ्लेले भनिन् ।

मेडिकल सञ्चालन तथा घरमा विहान साँझको कामधन्दाका अलवा केही समय निकालेर तरकारी लगाउने, रेखदेख गर्ने गरिरहेकीछिन् । व्यस्त समयका बाबजुदपनि उनले तरकारी खेतीमा जोड दिइरहेकीछिन् । अहिले उनको सिको देखेर छिमेकीले पनि छतमा तरकारी लगाउन थालेका छन् । मेहनती काफ्ले मेडिकल सञ्चालक मात्र नभई रामपुरका विभिन्न सामाजिक संघ संस्था, सामाजिक कार्यमा उनको राम्रो सक्रियता छ । फुुर्सदमा रहेका महिलालाई केही उद्यम, व्यवसाय गरेर आफू आत्मनिर्भर बन्न प्रेरित गर्ने गर्छिन् ।

 

सधैँ हँसिलो मुद्रामा देखिने उनी आफ्नो जीवनकालमा जस्तोसुुकै परिस्थिती आइपरेपनि कहिल्यै हतोत्साहित नभई आफ्नो निरन्तर काममा सक्रिय भइरहन्छिन्, उनको यो नै सिको अन्य महिलाले गर्न सकियो भने हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ । मेहनती दुुर्गाको पौरख लोभलाग्दो छ ।

 

lcci
You might also like

Comments are closed.