आफ्ना लागि नभएपनि मायालुको लागि धूम्रपान त्याग्न डा. ओममूर्तिको आग्रह

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूम्रपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गरेका छन् ।

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरिने बसन्त पञ्चमी र प्रणय दिवस यसवर्ष फागुन २ गते परेको सन्दर्भ पारेर उक्त दिन ज्ञान र प्रेमलाई मिश्रण गर्दै धूम्रपान सेवनमुक्त समाज निर्माणका लागि अवसरका रुपमा उपयोग गरिएको डा. अनिलले बताए ।
कुनै विशेष अवसरमा मानिसले केही चिज त्याग ग¥यो भने त्यो सफल हुने सम्भावना बढ़ी हुन्छ ।

साथै अविस्मरणीय र महत्वपूर्ण पनि हुने भएकाले त्यस दिनदेखि धूम्रपान र सुर्ती सेवनको लतलाई त्याग गर्न आफ्ना शुभेच्छुकहरुलाई उनले आह्वान गरेका छन् । ‘प्रणय दिवस’का अवसरमा तपाई फूल दिनुस्, कुनै भौतिक उपहार दिनुस् ।

त्यसको साथसाथै आफू र आफ्नो परिवारजनको दीर्घजीवनका लागि लत त्याग्नु सबैभन्दा मूल्यवान उपहार हो’ डा. अनिलले भने–“यदि तपाईं आफूलाई भन्दा बढी माया उनीहरुलाई गर्नुहुन्छ भने दीर्घजीवनको उपहारजस्तो बहुमूल्य उपहार अर्को के होला र ?” अझ त्यस विद्याकी देवीलाई पूजा गरिने दिन पनि परेको छ । कुलत त्याग्ने जस्तो नैतिक शिक्षा अर्को कुनै हुन्छ ? डा. अनिलको प्रश्न छ ।

कुलत त्याग्नु जीवनको अमूल्य उपहार हो । चुरोट र सुर्ती सेवन छोड्दा आफ्नो आयुमात्रै लम्बिदैन परिवारको आयुपनि बढ्ने हुँदा ‘स्मोकर्स आर नट सेल्फिस्’ भन्ने नारालाई जोड दिइएको उनको भनाइ छ । कुलत छुटाउन प्रोत्सहान गर्ने उद्देश्यका निम्ति यस अभियानमा ‘धूम्रपान गर्ने स्वार्थी हुँदैनन्’ भन्ने टेमप्लेटलाई सकारात्मक र सुखद् परिणामको अपेक्षासहित राखिएको डा. अनिलले स्पष्ट पारे ।

डा. अनिलकाअनुसार मानिसको मृत्युका कारणमध्ये धूम्रपान प्रमुख रहेको अध्ययनहरुबाट प्रमाणित भएको छ । तमाखु सेवन गर्ने हरेक दुई जनामध्ये एक जनाको मृत्यु हुने गरेको छ । प्रत्येक एक खिल्ली चुरोटले सेवनकर्ताको ११ देखि १३ मिनेटसम्म आयु घटाउने भन्दै त्यस्ता मानिसको जीवनमा १० महिनाको वर्ष हुन्छ । अर्थात् सेवनकर्ताको हरेक वर्ष औसत दुई महिना आयु घट्दै जाने उनको भनाइ छ ।

धूम्रपान गर्नेलाई दुईदेखि चार प्रतिशत हृदयाघात हुने खतरा छ भने फोक्सोको क्यान्सर हुने जोखिम २५ प्रतिशतसम्म रहेको उनले बताए । त्यस्तै एक वयस्क मानिसले अत्यधिक चुरोट सेवन गरेमा १५ वर्षदेखि २५ वर्षसम्म छिटो मृत्युको जोखिम रहेको अध्ययनले देखाएको भनाइ छ ।

कुनै व्यक्तिले धूम्रपान गर्दा उसलाई मात्रै होइन, वरिपरिका मानिसलाई पनि गम्भीर असर गर्दछ । यसबाट विशेषगरी गर्भमा रहेका शिशु, बालबालिका र सास फेर्न समस्या भएका व्यक्तिहरुलाई सबैभन्दा बढी जोखिममा हुन्छ । यसले सेवनकर्ता, वरिपरिका मानिस र सेवनकर्ताले प्रयोग गरेका सामग्रीबाट पनि अरुको स्वास्थ्यमा असर गर्छ ।

एक अध्ययनअनुसार धूम्रपानबाट ८० लाख जनाको मृत्यु हुँदा १३ लाखले अन्य धूम्रपानकर्ताले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको डा. अनिलले जानकारी दिए । धूम्रपानको भयावह स्थिति नेपालजस्ता गरीव मुलुकमा उच्च रहेको उल्लेख गर्दै विश्वका १ दशमलव ३ अर्ब जना धूम्रपान गर्ने मानिसमध्ये ८० प्रतिशत गरीव देशका नागरिक रहेको अध्ययनमा देखिएको उनको भनाइ छ ।

धूम्रपान नगर्दा आफू अकाल मृत्युबाट जोगिनुको साथै अभिभावत्वको जिम्मेवारी पूरा गर्न सकिने र परिवारको आर्थिक, सामाजिक सुरक्षा गर्न सकिन्छ । “जीवन मेरो मात्रै होइन, ममाथि धेरै जना आश्रित छन्” भन्ने बुझ्न जरुरी रहेको उनी बताउँछन् । धूम्रपानको लत छुटाउने अभियान शुरु गरेका डा. अनिलले त्यस्ता व्यक्तिलाई प्रोत्साहन गर्न उनले आफ्नो फेसबुक पेजमा गुगल फर्मसमेत राखेका छन् ।

जहाँ आफूले धूम्रपान परित्याग गरेको प्रतिबद्धता व्यक्त गर्न सकिन्छ । सामाजिक सञ्जालबाट चेतनामूलक अभियान चलाउने क्रममा विश्व कीर्तिमान कायम गरेका डा. अनिलकोे बिहीबार फेसबुक लाइभमा ६ हजार ६७२ जना प्रत्यक्ष जोडिएका थिए भने तत्काल करिव ५० जनाले सुर्तीजन्य पदार्थको सेवन छाड्ने प्रतिबद्धता जनाएका थिए । रासस

 

You might also like

Comments are closed.