चैते धानखेती गर्ने किसानलाई अनुदान

कञ्चनपुर । चैते धानखेती गर्ने किसानलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ८० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको कृषि विकास शाखाको आव २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसानलाई अनुदानमा चैते धानको बीउ उपलब्ध गराउन थालिएको हो । किसानको मागका आधारमा बीउ वितरण गरिने नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए ।

“धान उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि दुई वर्षदेखि निरन्तर रुपमा चैते धानको बीउ अनुदानमा वितरण गराउन थालेका छौँ”, उनले भने, “चैते धानखेती गर्ने किसानको सङ्ख्या बर्षेनी बढ्दो रुपमा रहेको छ ।”

किसानलाई अनुदानमा सिँचाइ सुविधाका लागि पम्पसेट, विद्युत्तीय मोटर उपलब्ध गराउने कार्यसँगै पूराना कुलो मर्मत गरी सञ्चालन गरिन थालेपछि चैते धानखेती गर्ने किसान बढ्दै गएको उनको भनाइ छ । पर्याप्त सिँचाईका लागि साधन उपलब्ध हुन थालेपछि किसानले हर्दिनाथ जातको चैते धानखेती पश्चात बर्षे धानखेती गरेर दोहोरो फाइदा लिन थालेको उनले बताएका छन् ।

उनका अनुसार नगरपालिकामा खेतीमा संलग्न किसानमध्ये ८० प्रतिशतले धानखेती गर्दै आएका छन् । त्यसमध्ये चैते धानखेती मात्रै गर्ने किसानको सङ्ख्या पाँच प्रतिशत रहेको छ । थोरै जग्गामा चैते धानखेती गर्ने किसान ८० बढी भएको जनाउँदै कृषि विकास शाखाका प्रमुख धामीले एक बिघाभन्दा बढी क्षेत्रफलमा चैते धानखेती गर्ने किसान ३० बढी रहेको बताउँछन् ।

गतवर्ष मात्रै नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराएर ४० बिघा जग्गामा २५ किसानले चैते धानखेती गरेको उनी बताउँछन् । वर्षे धानभन्दा चैते धानले बढी उत्पादन दिने भएकाले किसानले यसको खेतीलाई प्राथमिकतामा राख्न थालेकाले यसवर्ष पनि अनुदानको कार्यक्रम राखिएको उनले जानकारी दिए ।

“चैते धानमा बर्खे धानको तुलनामा रोग कीरा कम लाग्ने, मसिनो दाना हुने र धेरै फल्ने भएकाले किसानले यस धानको खेतीलाई रुचाएका छन”, धामीले भने । फागुनमा बीउ राखेर किसानले चैतभित्र यस धानलाई रोप्ने गरेका छन् । रोपेको चार महिनामा धान पाक्ने गर्दछ । असारमा चैते धान काटेर किसानले बर्षे धानखेती गर्दै आएका छन् ।

चैते धानको बीउ अनुदानमा लगेका किसानले अनिवार्य रुपमा धान रोपेकै हुनुपर्ने नियम नगरपालिकाले बनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार कूल धानखेती हुने ४८ हजार चार सय ९६ हेक्टरमध्ये तीन सय हेक्टर जग्गामा चैते धानखेती हुने गरेको छ । रासस

lcci
You might also like

Comments are closed.