नेपाल टेलिकमले स्थापनाको २० औं वार्षिकोत्सव मनायो

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरुमा कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ग्राहकलाई सर्वसुलभ तथा भरपर्दो रुपमा सेवा प्रदान गर्ने खालका नीति, योजना र कार्यक्रम सञ्चालन गर्नु जरुरी भएको बताइन् ।

पूर्वाधार विकास, सेवा पहुँच र सेवा विस्तार लगायतका विभिन्न कार्यक्रम समेटेर १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने कार्यका साथ अगाडि बढेको चर्चा गर्दै मन्त्री शर्माले आगामी दिनमा सेवामा उल्लेखनीय सुधार र आय वृद्धिको लागि आवश्यक कार्य गर्न निर्देशन दिइन् । सरकारको डिजिटल नेपालको अवधारणा साकार पार्न कम्पनीका कार्यक्रमहरु परिलक्षित रहेको बताउँदै मन्त्री शर्माले कम्पनीको प्रगतिलाई ध्यानमा राखी दीर्घकालीन व्यावसायिक योजना बनाउन पहल गर्नु आवश्यक रहेकोमा जोड दिइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले कम्पनीले संस्थागत सुशासन कायम गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए । आन्तरिक कार्य वातावरण चुस्त बनाउँदै निर्णय प्रक्रिया, कार्य पद्धति र संस्थागत संरचनामा सुधार गरी प्रगतिशील संस्थाका रुपमा कम्पनीलाई विकास गर्नुपर्ने बताएका छन् ।

jutta mela

नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले नेपालमा दूरसञ्चार सेवाको विकास र विस्तारमा नेपाल टेलिकमको अहम् भूमिका रहेको उल्लेख गर्दै प्रविधिको परिवर्तनसँगै कम्पनीलाई समय सापेक्ष सुधार गर्नु आवश्यक रहेको बताए । सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) शंकर लामिछानेले प्रतिस्पर्धी वातावरणमा मन्त्रालय लगायत नियामक निकायबाट कम्पनीका लागि आवश्यक नीति निर्माण गर्न र कम्पनीलाई अग्रणी दूरसञ्चार सेवा प्रदायकको रुपमा राखिरहन आवश्यक सहयोगको अपेक्षा गरेका छन् ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कम्पनीको समग्र अवस्थाका बारेमा छोटकारीमा जानकारी गराउँदै कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित फोरजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा ७४ जिल्लामा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर बृद्धि भइरहेको बताइन् ।

उनले एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन विभिन्न कार्य भइरहेको, हाइवे नेटवर्क सुधारको कार्य अगाडि बढाइएको र जिल्लावाइज नेटवर्क सुधार गर्ने उद्देश्यले १९ जिल्लालाई नमूना दूरसञ्चार जिल्ला घोषणा गरी तीव्रताका साथ कार्य अगाडि बढाइएको जानकारी दिएकी छन् ।

कार्यक्रममा कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता तथा कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीलाई सम्मान गरिएको छ । साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

 

You might also like

Comments are closed.