‘छैँठौ रामपुर मेयर कप २०८०’ को उपाधी चार नम्वर वडालाई

सुशीला रेग्मी

रामपुर (पाल्पा) । पाल्पाको रामपुरमा भएको छैँठौ मेयर कप २०८० को उपाधी चार नम्वर वडाले हात पारेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट नौ अङ्क प्राप्त गर्दै वडा नम्वर चारले रनिङ शिल्डको उपाधी पाउन सफल भएको हो ।

विजेता चार नम्वर वडाले फुटबल प्रतियोगितामा द्वितीय, व्याडमिन्टनतर्फ प्रथम र द्वितीय स्थान, महिला भलिबलतर्फ द्वितीय स्थान हासिल गर्दै नौ अङ्क प्राप्त गरी यस छैँठौ मेयर कप २०८० को उपाधी प्राप्त गरेको छ ।

खेलकुदको विकासका लागि रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा विभिन्न कार्यक्रमको साथमा मेयर कप सञ्चालन भएको हो । नगर प्रमुख रमणबहादुर थापाले खेलकुदको विकासका लागि हरेक वर्ष मेयर कप अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिरहेको बताए । उनले नगरपालिकाबाट खेलकुदको क्षेत्रमा प्राथमिकता दिएर काम गरेको बताएका छन् ।

“खेलकुदका लागि आवश्यक भौतिक संरचना निर्माण, खेलाडीको प्रशिक्षणमुलक कार्यक्रममा हाम्रो ध्यानकेन्द्रित रहनेछ” नगर प्रमुख थापाले भने,–“मेयर कपका कारण वर्षेनी खेलाडी उत्पादन भइरहेका छन्, यस्ता खेलकुदजन्य कार्यक्रमले युवाको खेलकुदको क्षेत्रमा आकर्षण बढ्दै गइरहेको छ” ।

मेयर कप अन्तर्गत फुटबल, पुरुष तथा महिला भलिबल, क्रिकेट, व्याडमिन्टन र माविस्तरीय वक्तृत्वकला प्रतियोगिता भएका छन् । फुटबल प्रतियोगितामा प्रथम वडा नम्वर सात, द्वितीय वडा नम्वर चार, तृतीय वडा नम्वर नौ भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय
हुने समूहलाई क्रमश : नगद रु ५५ हजार, ३५ हजार, २१ हजार साथमा शिल्ड, कप, मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको छ ।

पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा नम्वर दशले जित्न सफल भएको छ । भलिबलमा वडा नम्वर एक उपविजेता बनेको छ भने तृतीय
स्थान वडा नम्बर तीनले हासिल गरेको छ । प्रतियोगितामा प्रथम समुहलाई नगद रु ५१ हजार साथमा शिल्ड, कप, मेडल, प्रमाण पत्र प्रदान गरिएको छ । द्वितीय र तृतीय हुने समूहलाई क्रमश : नगद रु ३१ हजार र २१ हजार साथमा शिल्ड, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

महिला भलिबलतर्फ वडा नम्वर छ प्रथम, वडा नम्बर चार द्वितीय र वडा नम्वर एक तृत्तिय भएका छन् । प्रथम, द्वितीय र तृतीय
हुने समूहले क्रमश : नगद रु ३५ हजार, २५ हजार र १५ हजार साथमा शिल्ड, मेडल, कप र प्रमाण पत्र प्रदान गरिएको छ । क्रिकेट प्रतियोगितामा प्रथम वडा नम्वर आठ, द्धित्तिय वडा नम्वर पाँच र तृतीय वडा नम्वर तीन भएका छन् । प्रथम, द्वितीय र तृतीय
हुने समूहलाई क्रमश : नगद रु ४० हजार, २५ हजार र १५ हजार साथमा शिल्ड, मेडल, कप र प्रमाण पत्र प्रदान गरिएको छ ।

यसैगरी व्याडमिन्टन प्रतियोगितामा प्रथम वडा नम्वर चारको बसन्त श्रेष्ठ र समिर रानाको बि समूह, द्वितीय चार नम्वर वडाकै दानबहादुर राना र सन्तोष सारुको ए समूह र तृतीय वडा नम्वर छ को टुकबहादुर राना र युवराज कुमालको समूह भएका छन् । विजयी समूहले क्रमश : नगद रु दश हजार, पाँच हजार र दुई हजारसहित मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् ।

माविस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भूपू सैनिक राईजिङ ईङ्गिलस बोर्डिङ स्कुलका मनिषा श्रेष्ठ, द्वितीय रामतुलसी नमुना माध्यमिक विद्यालयका विविसा घिमिरे र तृतीय आधारभूत माध्यमिक विद्यालयका अब्दुल खालिद भएका छन् । सोही अवसरमा रामपुर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिविच मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीको समुह विजयी भएको छ । रामपुर नगरपालिकाका जनप्रतिनिधि र महिला कर्मचारी विच भएको डोरी तान्ने प्रतियोगितामा महिला कर्मचारीको समूह विजयी भएको छ ।

रामपुर ७ किसानबारी खेलमैदानमा भएको समापन कार्यक्रमका अवसरमा नेपाली काँग्रेस रामपुर नगर समितिका सभापति नेत्रप्रसाद भट्टराई, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य कमलराज भट्टराई, कालीगण्डकी आँखा उपचार केन्द्रका अध्यक्ष भिमविश्व भट्टराईले मेयर कपले खेलकुद क्षेत्रमा खेलाडीको आकर्षण बढेको बताए । समापन तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा रामपुर नगरपालिका वडा नं.६ बस्ने अण्डर नाईन्टिन राष्ट्रिय महिला भलिबल प्रतियोगिताका खेलाडी अस्मिता घर्ती मगरलाई उपचारार्थ नगद रु ५० हजार रकम सहयोग गरिएको छ । खेल अभ्यासको क्रममा घाइते भएर अहिले उपचारमा रहेको हुदा आर्थिक रकम सहयोग गरिएको हो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको अध्यक्षतामा भएको समापन कार्यक्रमका अवसरमा विधागत रुपमा उत्कृष्ट खेलाडी र विभिन्न व्यक्ति र संस्थालाई सम्मान प्रदान गरिएको छ । नगर प्रवक्ता कपिलबहादुर खाँणको स्वागत, नगर खेलकुद विकास समितिका सचिव जमुना रानाको सञ्चालनमा समापन कार्यक्रम भएको हो ।

 

 

You might also like

Comments are closed.