धनकुटाको चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली

धनकुटा । चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान गरेको छ ।

सहभागीलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिइन् । उद्यमी विष्णुमायाँ कन्दङवाले सुकुटी बनाउन सहित मूला, गाजर, काउली, बन्दा लगायत तरकारीबाट अचार बनाउन प्रशिक्षण दिएकी हुन् ।

गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पालिका भ्रमणमा आउने पर्यटकलाई कोसेली अचार प्रदान गर्न महिलालाई अचार बनाउने तालिम दिन थालिएको बताए । यसका लागि पालिकाले पालिकाको केन्द्र राजारानी बजारमा कोसेली घर सञ्चालनमा ल्याउन लागेको उनले जानकारी दिए ।

यसले एकल महिलाको जीवनस्तर उकास्न महत्वपूर्ण सहयोग पुग्नेछ । पर्यटकीय नगरी धनकुटाको भेडेटारबाट पाँचथरसम्मको एक सय किलोमिटर भेडेटार–रवी–राँके राजमार्ग कालोपत्रेका लागि तीव्र रुपमा काम भइरहेको छ ।

सडक पूरा भएपछि यस क्षेत्रमा आउने पर्यटकको आवागमनलाई लक्षित गरेर कोसेली अचारको कार्यक्रम सुरु गर्न लागिएको अध्यक्ष लिम्बूले जानकारी दिए । रासस

 

You might also like

Comments are closed.