वैदेशिक रोजगारीमा जाने चितवनबाट धेरै

भरतपुर । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरुमध्ये चितवन पहिलो रहेकोे छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार ८२३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेलले जानकारी दिए ।

“चितवनबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया, अमेरिया, बेलायत लगायतका यूरोपका देशमा जानेको सङ्ख्या बढी छ”, उनले भने, “विदेश नजाने घर भेट्नै मुस्किल हुन लागिसक्यो”, उनका अनुसार “भरतपुर महानगरपालिकामा मात्रै ३४ हजार पाँच सय घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् ।”

आर्थिक वर्ष २०७९÷२०८० मा नेपालबाट सात लाख ७१ हजार तीन सय २७ जनाले श्रम स्वीकृत लिएको श्रम तथा रोजगार विभागको तथ्याङ्कमा रहेको छ । यसमध्ये बागमती प्रदेशबाट मात्रै एक लाख १६ हजार ९३२ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा चितवन जिल्लाबाट सबैभन्दा धेरै १५ हजार ८२३ जना छन् । धनुषापछि सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने जिल्लामा चितवन रहेको संयोजक पौडेलले बताए । यहाँबाट अघिल्लो आवमा एक हजार १६१ जनाले राहदानी बनाएका थिए ।

चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ६ हजार ५६१ जनाले श्रम स्वीकृत लिएका छन् । त्यस्तै माडी नगरपालिकाबाट २ हजार १२७, इच्छाकामना गाउँपालिकाबाट १ हजार आठ, रत्ननगर नगरपालिकाबाट १ हजार ४७१, कालिका नगरपालिकाबाट १ हजार ६७९, खैरहनी नगरपालिकाबाट १ हजार ६०८ र राप्ती नगरपालिकाबाट १ हजार २९१ जनाले श्रम स्वीकृत लिएका छन् ।

वैदेशिक रोजगारीका क्रममा चितवनमा ठगिने समस्या रहेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा चालु आवमा १३६ निवेदन परेका थिए । त्यसमध्ये ६० प्रतिशत मानिसको विचौलियाले पैसा उठाएर भागेको निवेदन परेको थियो । स्वदेशमै रोजगारी सिर्जना गर्नका भरतपुर महानगरपालिका लागिपरेको उपप्रमुख चित्रसेन अधिकारीले बताए ।

“अवैध रुपमा विदेश जानेको सङ्ख्या पनि कमी छैन । भारतमा जानेको सङ्ख्या उत्तिकै छ”, उनले भने, “हामी जनप्रतिनिधि यहाँ भएको साधन स्रोत, जल, जमिन, जङ्गललाई उपयोग गर्दै यहाँ भएको सीपलाई उत्पादनसँग जोड्नुपर्छ । यसका लागि हामी प्रयासरत छौँ ।” वैदेशिक रोजगार देशव्यापी समस्या रहेको उनले बताए । रासस

 

You might also like

Comments are closed.