इलाम । सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर उनलाई नगरपालिकाले निःशुल्क पढायो ।
गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी उनी ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण भइन् । हाल उनी स्नात्तकोत्तर अध्ययन गरिरहेकीछिन् ।
“परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा धेरैलाई समस्या छ,” सुजताका बुबा प्रेमले भने, “हाम्रो नगरपालिकाले छोरीबुहारीलाई स्नातक पढाइरहेको छ, पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छोडेकै कारण कम उमेरमा विवाह हुने जस्ता समस्याबाट मुक्त बनाउन पालिकाको यो काम उदाहरणीय लाग्छ ।”
सूर्योदयले सो कार्यक्रम अन्तर्गत कर्फोक क्याम्पसमा शतप्रतिशत छात्रवृत्ति दिएर छोरी–बुहारीलाई पढाउन थालेको चार वर्ष बित्यो । नगरको छात्रवृत्ति कार्यक्रममा अहिलेसम्म १५३ छोरी–बुहारीले स्नातक अध्ययन गरिसकेका छन् । तीमध्ये २३ जनाले उत्तीर्ण गरेको करफोक क्याम्पस प्रमुख गोपाल कट्टेलले जानकारी दिए । यसवर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने छोरी–बुहारीको सङ्ख्या दुई सय पुग्दैछ ।
नगरपालिकाभित्रका छोरी र यहाँ विवाह भएर आएका बुहारीलाई पालिकाले छात्रवृत्तिमा स्नातक अध्ययन गराइरहेको नगरप्रमुख रणबहादुर राईले बताए । “हामीले स्नातक गरिसकेका विद्यार्थीलाई रोजगारी पनि दिँदैछौँ,” उनले भने, “विद्यार्थीले पढेको सङ्काय, विषय र उनीहरुको योग्यताअनुसार विभिन्न काममा एक सय दिनको रोजगारी दिँदैछौँ ।”
नगरपालिकाले नगरबाट छात्रवृत्तिमा अध्ययन गरेका ‘छोरी–बुहारी’लाई सय दिनको रोजगारी दिने तयारी गरेको हो । छोटो समयका लागि भएपनि छात्रवृत्तिमा उत्तीर्ण भएका महिलालाई प्रोत्साहनस्वरुप रोजगारी दिन लागिएको नगर प्रमुख राईले बताए । उनीहरुलाई थप सिकाइ र क्षमता प्रस्फुटनमा सय दिनको रोजगारी सहयोगी बन्ने उनले जानकारी दिए । ‘स्नातक गरेका छोरी–बुहारीलाई रोजगारीको कार्यक्रमले थप सिकाइ हुनेछ,” उनले भने, “उनीहरुको दक्षता र क्षमताबाट नगरपालिकाले पनि सहयोग लिन पाउनेछ ।”
कानुनी रुपमा उमेर पुगे पनि २०÷२२ वर्षका छोरीहरु विवाहका लागि अध्ययनका दृष्टिकोणले योग्य हुँदैनन् । उनीहरु उच्च शिक्षा अध्ययन गर्न नपाउँदै विवाह गरेर आएपनि शिक्षा लिने अवसरबाट वञ्चित नगराउन पालिकाले यो कार्यक्रम सुरुआत गरेको नगरप्रमुख रार्ई बताउँछन् । “बुहारीलाई पनि पढाउनुपर्छ भन्ने सोच विकास गर्न नगरले यो कार्यक्रम ल्याएको हो,” उनले भने, “छात्रवृत्तिमा अध्ययन गरेका छोरी–बुहारीलाई थप प्रोत्साहन गर्न र उनीहरुका माध्यमबाट अरु छोरी–बुहारीलाई पनि पढाइमा हौसला थप्न रोजगारीको कार्यक्रम ल्याइएको हो ।”
उनीहरुलाई क्षमताअनुसार नगर तथा अन्तर्गतका कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायतमा रोजगारी दिइनेछ । नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले शिक्षा, मानविकी, व्यवस्थापन, कम्प्युटर लगायत विद्यार्थीको जुन क्षेत्रमा योग्यता छ, त्यसैमा रोजगारी दिइने बताए । “कलेजमा पढेको विषयसँग सम्बन्धित मात्र होइन, जोसँग जे क्षमता छ, त्यसैअनुसार काम विभाजन हुनेछ,” उनले भने, “यसको कार्यविधि बन्न बाँकी छ तर इच्छुक विद्यार्थीका लागि आवेदन माग गरी सूचना जारी गरिसकिएको छ ।”
नगरबाट छात्रवृत्ति पाएका महिलाले करफोक क्याम्पसमा विभिन्न सङ्काय र विषय अध्ययन गरिरहेका छन् । क्याम्पस प्रमुख कट्टेलले नगरको छात्रवृत्ति कार्यक्रमले दूरदराजका छोरी–बुहारीले क्याम्पस पढ्न पाएको बताएका छन् । “दूर दराजमा बसोबास गर्ने छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रमले क्याम्पससम्म ल्याएको छ,” उनले भने, “छात्रवृत्तिमा अध्ययन गर्न पाउने र थप सय दिनको रोजगारी पनि हुने भएपछि छात्राहरुलाई थप प्रोत्साहन मिलेको छ ।”
करफोक क्याम्पसमा छात्रवृत्ति पाएका विद्यार्थीले बिबीए, बिबीएच, बिएड र बिए अध्ययन गरिरहेका छन् । स्नातक तह उत्तीर्ण गरेकामध्ये धेरैजसो स्नात्तकोत्तर अध्ययन गर्न जिल्लाबाहिर रहेकाले आधाभन्दा बढीले मात्र सय दिनको रोजगारी लिने शिक्षा शाखा प्रमुख भट्टराईले बताएका छन् । रासस
Comments are closed.