पोखरा । प्रतिभा माध्यमिक विद्यालय पालिखेतमा एकदिने ‘फूड फेस्टिभल’ आयोजना गरिएको छ । पाठ्यपुस्तकमा पढेको कुरालाई व्यावहारिक रुपमा अभ्यास गराउने उद्देश्यले शनिवार फेस्टिभल आयोजना गरिएको हो । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीले फेस्टिभलको आयोजना गरेका हुन् ।
विद्यार्थी अध्यक्ष अफ्रिन घलेको अध्यक्षतामा भएको फेस्टिभलको उद्घाटन प्रमुख अतिथि पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले गरेका हुन् । वडाध्यक्ष प्रकाशमान उदासले विद्यालयमा लिएको शिक्षा मात्र पर्याप्त नहुने भएकोले व्यावहारिक ज्ञान आवश्यक परेका बताए । ‘विद्यालयको शिक्षाले मात्र पुग्दैन त्यो शिक्षा ब्याबहारिक पनि हुनुपर्छ,’ उनले भने, ‘सीकाईलाई सिपमा बदल्न यस्ता गतिविधि आवश्यक छ ।’
वडाध्यक्ष उदासले अब्बल, शिक्षित र दक्ष जनशक्ति उत्पादन गरेर प्रतिभा माविले भोलिको लागि नयाँ जनशक्ति तयार पारिरहेको बताए । ‘उज्जवल भविष्यका लागि विद्यार्थीलाई यस्तै व्यावहारिक ज्ञान आवश्यक पर्छ,’ उदासले भने, ‘पछिल्लो समय प्राविधिक शिक्षा फस्टाएको छ, अब सामान्य शिक्षाले मात्र धान्ने अवस्था रहदैन ।’
प्रधानाध्यापक किरण सापकोटाले पढेको कुरालाई व्यवहारमा ल्याउनका लागि विद्यार्थीले फेस्टिभल आयोजना गरेको बताए । फूड फेस्टिभलको यो दोश्रो संस्करण हो । विद्यालयमा गतवर्ष देखि फूड फेस्टिभल गर्न थालिएको हो । आगामी वर्षपनि यस्ता कार्यक्रम निरन्तर आयोजना गरिरहने प्रधानाध्यापक सापकोटाले बताए ।
प्र.अ.सापकोटाले विद्यार्थीले सिकेको सीप खानाको स्वादमा मात्र नभई सधैका लागि सिकाइ हुने बताए । प्र.अ. सापकोटाका अनुसार गतवर्षको फेस्टिभलबाट ३५ हजार रुपैयाँ बचत भएको र त्यो पैसा होटल व्यवस्थापनमा उच्च अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति दिनेगरी विद्यार्थीले नै व्यवस्थापन गरेका छन् ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले पछिल्लो समय विश्वकै ठूलो व्यावसाय पर्यटन क्षेत्र भएकोले पर्यटन क्षेत्रका लागि यस्ता कार्यक्रम निकै नै रचनात्मक हुने बताए । उत्प्रेरक वक्ता डा. रबिन कटुवालले होटल व्यवस्थापनको अब्बल जनशक्ति तयार गर्नका लागि विद्यालय तहमा यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।
विज्ञान विषयका विद्यार्थीले विज्ञान प्रदर्शनी, व्यवस्थापन विषयका विद्यार्थीले बिजनेस प्लान प्रस्तुती र होटल व्यवस्थापनका विद्यार्थीले फूड फेस्टिभल गर्दै आएका छन् । विद्यार्थीद्वारा रमाईलो साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको छ । फूड फेस्टिभलसँगै सांगीतिक कार्यक्रम र विभिन्न खेलकुदका कार्यक्रम समेत आयोजना गरिएको थियो ।
पर्यटनको सहर भएकाले फूड फेस्टिभल नयाँ अभ्यास बनेको र विद्यार्थीले आफ्नो क्षमता देखाउने अवसर पाएका छन् । विद्यालय परिसरमा विभिन्न स्टल राखेर विद्यार्थीले परिकारहरु पस्केका थिए । विद्यार्थीले यस फेस्टिभलबाट धेरै कुरा सिक्ने अवसर पाएका छन् ।
Comments are closed.