पोखरा–बुटवल–नारायणगढ त्रिकोणात्मक सहरको रुपमा विकास हुँदै : ठाकुर गैरे

पोखरा । प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका युवा नेता ठाकुर गैरेले पोखरा–बुटवल र नारायणगढ त्रिकोणात्मक सहरको रुपमा विकास हुँदै गरेको बताएका छन् ।

बुटवल–नारायणगढ तथा मुग्लिन–पोखरा सडक स्तरोन्नति भइरहँदा सिद्धार्थ राजमार्ग समेत स्तरोन्नतिका लागि विश्व बैंकसँग सम्झौताको अन्तिम तयारी भएको उनले जनाए ।

‘पोखरा–बुटवल सडकलाई साढे २ घण्टामा छोट्याउने गरी डबल लेनमै भएपनि स्तरोन्नतिका लागि विश्व बैंकसँग सम्झौताको अन्तिम तयारी भएको छ । यही वर्षदेखि सम्झौता भएर कार्यान्वयनमा गयो भने नारायणगढ–पोखरा–बुटवल ३ सहरलाई साढे ७ घण्टाको दुरीमा सीमित गर्न सकिन्छ,’ पाल्पा हाउसमा उनको सम्मानमा आयोजित समारोहमा बोल्दै उनले भने, ‘त्रिकोणात्मक रुपमा एउटा सिटीमा कन्भर्ट गर्ने मोडलमा गई सिंगो नेपालको विकासमा राम्रो उपलब्धि हुनेछ ।’

कालीगण्डकी करिडोरअन्तर्गत राम्दीदेखि रानीमहलसम्म ट्रयाक खोल्न आफूले सदनमा आवाज उठाइरहेको उनले बताए । पटक–पटकको दबाबपछि अर्थ मन्त्रालयले १ अर्ब ४८ करोड खर्च स्वीकृतिका लागि साइन गरेको र चालु आवमै उक्त ट्रयाक खोल्न टेन्डरमा जाने उनको भनाइ थियो । उनले लुम्बिनी र गण्डकी प्रदेशसँग जोडिएको पर्यटकीय एवं धार्मिक क्षेत्र रानीमहल, रिडी, छेर्लुङ वरिपरि पर्यटन पूर्वाधारका हिसाबले निजी क्षेत्रबाट नै केही संरचना निर्माण गर्न सकिएमा दुवै प्रदेशको पर्यटन विकासमा पनि सघाउ पुग्ने बताए ।

२०४६ सालको परिवर्तनपछि भएको पाल्पा विकास गोष्ठीको निष्कर्ष स्मरण गर्दै उनले पाल्पाको विकासका मूल आधार : शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र पर्यटन भएको बताए । त्यसबेला पूर्वाधार विकासतर्फ तानसेन–छहरा–अर्घाखाँची मोटरबाटो, तानसेन–चिलाङ्दी–राम्दी, आर्यभञ्ज्याङ–रामपुर तथा बाँस्टारी–झडेवा हुँदै खैरेनी जोड्ने मोटरबाटो गरी ४ सडक पूर्ण रुपमा सम्पन्न गरी कालोपत्रे गर्न सकिएमा पाल्पाको विकासमा पूर्वाधार तयार हुने निष्कर्ष रहेपनि ती सडक सबैभन्दा अप्ठ्यारो र धूलाम्यमै सीमित हुनु दुखदायी रहेको बताए । ती सडक विकासमा आगामी वर्षको योजनामा समेट्ने प्रयास भइरहेको उनले जनाए ।

पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका सुन्तलाको पकेट क्षेत्र भएको उल्लेख गर्दै वन क्षेत्रमा पनि सुन्तला खेती गर्नुपर्ने बताए । उनले कुसुमखोला र बाँसटारीमा कोल्डस्टोर निर्माणको कोशिस भएको जनाए । पाल्पाको भगवती जात्रालाई सरकारीको औपचारिक कार्यक्रम बनाउनुपर्ने आवश्यकता औँल्याए । पञ्चायतकालदेखि नै पाल्पा जिल्ला मानव सूचकाङ्कमा विकसित जिल्ला भएको उल्लेख गर्दै उनले जिल्लाको समग्र विकासमा सबै जनाले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

जिल्लाका २ निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यान्वयन भएकोमा अहिले ५ वर्ष पूरा भएर छैँटौ वर्ष प्रवेश गर्दा समेत प्रगति ११ प्रशितमात्र भएकोमा गुनासो गरे । गतवर्ष आफू सांसदमा निर्वाचित हुने बेला तानसेन–बुटवल यात्रा गर्दा साढे ३ घण्टा लाग्ने र झोलामा एकजोर कपडासमेत बोक्नुपर्ने अवस्था भएको स्मरण गर्दै डुम्रे, चिडियाखोला (कालीमाटी), भूतखोला लगायत चार ठाउँबाहेक सडक स्तरोन्नति भएको दाबी गरे । सिद्धबाबा सुरुङमार्ग प्रारम्भिक चरणमा रहेको र यो समयमै सम्पन्न गर्न सकिएमा तानसेन–बुटवल सडक सरल बन्ने अपेक्षा गरे ।

युवा नेता गैरे अनेरास्ववियूका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् । मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष उनी पोखरामा सुरु मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता उद्घाटन अवसरमा यहाँ आएका हुन् । पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा शनिबार आयोजित समारोहमा सांसद गैरेलाई पाल्पा हाउस अध्यक्ष कुलप्रसाद घिमिरे, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पा कोलोनीका अध्यक्ष रेशम रचक, समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेलले पाल्पाली ढाकाटोपी, खादा र माला लगाएर स्वागत गरे । पाल्पा हाउस खोलेर एकताबद्ध रुपमा पाल्पालीहरु लाग्दा पोखरासहित पाल्पाको समेत विकासमा सघाउ पुग्ने विश्वास लिए ।

 

You might also like

Comments are closed.