काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर २ हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ७१ अङ्कले ओरालो लागेर ३६८ दशमलव ५६ मा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।
कुल १ करोड १४ लाख ७ हजार २६४ कित्ता शेयर रु ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा छ । सो कम्पनीको रु २२ करोड ८५ लाख ७६ हजार २६७ बराबरको शेयर कारोबार भयो ।
सगरमाथा जलविद्युत् कम्पनी रु ११ करोड ५९ लाख ६५ हजार ६२१, जोशी हाइड्रोपावर रु १० करोड ७५ लाख ५८ हजार २८३, एनआइसी एसिया बैंक रु ८ करोड ७० लाख २३ हजार १८० र हिमालयन ऊर्जा विकास कम्पनी रु ८ करोड ५७ लाख ५१ हजार ९४५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । छ्याङदी हाइड्रोपावर ८ दशमलव ०१, जोशी हाइड्रोपावर ७ दशमलव ४७ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ३४ प्रतिशतले कमाएका छन् ।
त्यस्तै मैलुङ खोला जलविद्युत् कम्पनी ५ दशमलव ७०, प्रोगेसिभ फाइनान्स ५ दशमलव ५८, माहुली लघुवित्त ५ दशमलव ४२, रिभर फल्स पावर ५ दशमलव १५ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४ दशमलव ९३ प्रतिशतले गुमाएका छन् । रासस
Comments are closed.