‘सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध सुदृढ हुनुपर्छ’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सव तथा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को सन्दर्भमा आज यहाँ आयोजित ‘मन्त्रालय तथा संवैधानिक निकायका प्रवक्तासँगको अन्तरक्रिया’को उद्घाटन गर्दै उनले नागरिकलाई सत्यतथ्य, विश्वसनीय र आधिकारिक सूचना उपलब्ध गराउन सरकार र सञ्चारमाध्यमले सहकार्य गर्नुपर्ने बताए ।

मन्त्रालय तथा निकायका प्रवक्ताको मुख्य जिम्मेवारी सही सूचना सम्प्रेषण गर्ने रहेको उल्लेख गर्दै उनले आधिकारिक सूचना सम्प्रेषणमा सञ्चारमाध्यमलाई प्राथमिकता दिन आग्रह गरे । “समाचारसँग सम्बन्धित सूचना अत्यन्त संवेदनशील हुन्छन्”, उनले भने, “आम पाठकलाई सरकारी निकायले दिनसक्ने सूचना सम्प्रेषण गर्न हरसम्भव प्रयास गर्नुपर्छ ।”

सञ्चारकर्मी जहिले पनि सूचनाको आधिकारिता प्रमाणित गर्न आतुर रहने सन्दर्भ उल्लेख गर्दै सचिव सुवेदीले पत्रकारको बाध्यतालाई बुझेर सहयोग गर्न प्रवक्तालाई आग्रह गरे । मन्त्रालयले थालनी गरेका नवप्रवर्तनका काम, मुलुकले अख्तियार गरेका नीति, रणनीतिलगायतका सम्बन्धमा जनतासमक्ष ल्याउन प्रवक्ताको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सूचना र समाचार लोकतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै सूचना सम्प्रेषणमा प्रवक्ता र राससको समान भूमिका रहेको बताए । समाचार छिटो दिने नाममा राससले हतार नगर्ने उल्लेख गर्दै उनले सूचनाको प्रमाणीकरणका लागि केही ढिला हुनसक्ने बताए । “रासस मन्त्रालय तथा निकायसँग सहकार्य गर्न तयार छ, आवश्यकतानुसार सरकारले राज्यका निकायलाई सही सदुपयोग गर्नुपर्छ”, उनले भने ।

jutta mela

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले मन्त्रालयअनुसार सञ्चार रणनीति बनाउन प्रवक्ताहरूलाई सुझाव दिँदै रासससँग सहकार्य गर्न आग्रह गरे । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले समाचार सम्प्रेषणमा राससलाई सदैव पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यद्यपि प्रवक्तासँग पर्याप्त सूचनाको पहुँच नहुनु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।

रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले प्रवक्ताको सीमितता बुझेर पत्रकार आफ्नो दायित्व निर्वाह गर्नु उचित हुने बताए । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले सञ्चारमाध्यमलाई आफूहरूले सदैव उत्प्रेरित नै गरिरहेको उल्लेख गर्दै मानवअधिकार प्रवर्द्धन गर्न सञ्चारमाध्यम आयोगको प्रमुख साझेदार संस्थाका रूपमा रहेको बताएका छन् ।

महालेखा परीक्षकको कार्यालयका प्रवक्ता बैकुण्ठबहादुर अधिकारीले सूचना तथा समाचार तथ्यमा आधारित हुनुपर्ने उल्लेख गर्दै समाचार सम्प्रेषणमा धेरै हतार नगर्न आग्रह गरे । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहप्रवक्ता अश्विनकुमार पोखरेलले मन्त्रालयको सूचना सार्वजनिकीकरणमा पहिलो सेवाग्राही राससको भएको उल्लेख गर्दै दुई संस्थाबीचको समन्वयलाई थप प्रगाढ बनाउन तयार रहेको बताए ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससबारे जानकारी गराउँदै सत्यतथ्य सूचना सम्प्रेष्णमा सहयर्का गर्न अनुरोध गरे । राससका प्रधानसम्पादक एकराज पाठकले सत्यतथ्य, विश्वसनीय र आधिकारिक सूचना जनसमक्ष सम्प्रेषण गर्न प्रवक्ता र राससको समान भूमिका रहेको उल्लेख गरे ।
राससका समाचारदाता प्रकाश सिलवाल, भीष्मराज ओझा, कालिका खड्का र अशोक घिमिरेले सूचना सम्प्रेषणमा प्रवक्ताहरूले पु¥याउनुभएको सहयोगका लागि अभार प्रकट गर्दै आगामी दिनमा पनि सहकार्य दह्रिलो बनाइनुपर्नेमा जोड दिएका थिए ।

छलफलमा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्ट, खानेपानी मन्त्रालयका प्रवक्ता मीना श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंह सहभागी थिए ।

यस्तै कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहप्रवक्ता देवीप्रसाद थपलिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहप्रवक्ता रामकृष्ण श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहप्रवक्ता लोकहरि बस्याल, लोक सेवा आयोगका सहप्रवक्ता चुरामणि मरासिनी, सहरी विकास मन्त्रालयका सहप्रवक्ता सुरेशकुमार वाग्लेलगायत सहभागी थिए । रासस

You might also like

Comments are closed.