सुन्तला बेचेर रु ४० लाखको आम्दानी

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यसवर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन् ।

विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए । महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ १ हजार ५ सय सुन्तलाका बोट छन् । “रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिन, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर आएपछि सुन्तला खेतीमा लागेको हुँ” उनले भने ।

उनले विसं २०७६ मा कृषि महत फार्म दर्ता गरी व्यवस्थित रुपमा सुन्तलाखेती अगाडि बढाइरहेका छन् । उनका अनुसार सुन्तला बगैँचामा १ हजार ५ सय उत्पादन दिने तथा ७ सय उत्पादन नदिने बिरुवा छन् । उत्पादित सुन्तला काठमाडौंस्थित कालीमाटीमा बिक्री हुँदै आएको छ । उनले यसवर्ष कालीमाटीमा प्रतिकिलो रु १२० सम्म सुन्तला बिक्री गरेको जानकारी दिए । “गतवर्ष रु ६० लाखको सुन्तला बगैँचाबाटै बिक्री भएको थियो, तर यस वर्ष उत्पादनमा ह्रास आउँदा कम आम्दानी भयो” उनले भने ।

नाम्सीकोट सुन्तला पकेट क्षेत्रका रुपमा परिचित छ । महतले नाम्सकोटका करिब २ सय घरधुरीलाई समूहमा विभाजन गरी गतवर्ष कृषि ज्ञान केन्द्र तनहँुँले करिब रु ४० लाख बराबरको कार्यक्रम सहयोग गरेको जानकारी दिए । उनका अनुसार शुक्लागण्डकी नगरपालिकाले किसानलाई सुन्तलाखेतीका लागि ड्रम, घाँस काट्ने मेसिन लगायत सामग्री अनुदान दिएको थियो ।

उनले यसवर्ष रु ४ करोड बराबरको सुन्तला खरिद गरी बिक्री गरेको जानकारी दिए । म्याग्दे गाउँपालिकाका किसानबाट रु १ करोड ५० लाख र शुक्लागण्डकीका अलैँचे, नाम्सीकोट लगायत टोलबाट रु १ करोड ५० लाखको सुन्तला खरिद गरी बिक्री गरेको उनले बताए । उनले सुन्तला बगानबाट प्रतिकिलो रु ७० देखि रु ७५ मा खरिद गरी रु १२० सम्म बिक्री गर्ने गरेको सुनाए ।

तनहुँमा यसवर्ष कृषकले सुन्तला बिक्री गरेर रु ३० करोड भित्रिएको छन । जिल्लामा गतवर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करिब रु ३० करोड बराबरको सुन्तला उत्पादन भएको जानकारी दिए । जिल्लामा यसवर्ष ३ हजार ७५० मेट्रिकटन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ ।

कार्यालयका अनुसार गवर्ष रु २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । उक्त अवधिमा ३ हजार ६२५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तलाखेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाका ८ हजार ५७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ ।

कार्यालयले सुन्तलाखेती गर्ने कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । धितालले भने, “कृषकलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौँ ।” तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौंका अलवा पोखरा, नारायणगढ लगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । रासस

 

lcci
You might also like

Comments are closed.