अबको मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति : राष्ट्रपति पौडेल

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताएका छन् ।

वृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को अवसरमा शुक्रबार काभ्रेमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औल्याए ।

“गरीबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हँुदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु”, राष्ट्रपति पौडेलले भने ।

निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उनले स्पष्ट पारे । “मुलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिक रुपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौ, जुन संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने ।

उनले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । “बढ्दो शहरीकरणको प्रभावबाट छायाँमा परेका पौष्टिक महत्व भएको हाम्रो मौलिक उत्पादनबारे जनचेतना र जागरण अभियान चलाएर यसको उत्पादनलाई बढावा दिनेतर्फ पनि उत्तिकै ध्यान दिनु जरुरी छ”, उनले भने ।

काभ्रेपलान्चोक जिल्ला कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र हो भन्दै उनले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीहरूमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभविृद्धिमा महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

“विविध भौगोलिक संरचना भएको हाम्रो देशमा तराई क्षेत्रमा गहुँ, धान र ऊखु उत्पादन तथा पहाडी क्षेत्रमा चिया, सुन्तला, कफी, जैतुन, किवी, ड्रागन फ्रुट, एभोकार्डाेजस्ता ‘हाई भ्यालु फ्रुट’को विकासमा जोड दिनुपर्दछ, उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ र ओखर खेतीको विकास गर्दा कृषि क्षेत्रको सन्तुलित विकासलाई मद्धत पुग्छ”, राष्ट्रपति पौडेलले भने ।

अहिलेको सञ्चार र सूचना प्रविधिको युगमा कृषि प्रविधिसम्बन्धी जानकारी, बजारको अवस्था, रोग, किरा, मौसमको जानकारीलगायत आवश्यक प्रविधि प्रचारको लागि यसको उपयोग गरी सम्पूर्ण सूचनाहरू देशभरिका कृषकलाई मोबाईलमार्फत उपलब्ध गराउने व्यवस्थाको खाँचो उनले औँल्याए । विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरुले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार÷उपकरण÷यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।

“परम्परागत कृषि प्रणालीको अन्त्य गरी नविनतम उच्च प्रविधि, उपकरण, गुणस्तरीय बीउबीजन र व्यावसायिकताको उच्चतम अभ्यासद्धारा औधोगिकिकरणतर्फ उन्मुख हुन अब हामीले किमार्थ ढिला गर्न हुँदैन”, उनले भने ।

पौडेलले आफूले कृषि क्रान्तिको कुरा शुरू गर्नुअघि काभ्रेका जनताले कृषि क्रान्ति गरिसकेको बताएका छन् । उनले अहिले रसायनिक मलले मानिसको स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको उल्लेख गर्दै हामीले अर्गानिक खेतीमा जोड़ दिनुपर्छ, रैथाने खानामा जस्तो स्वाद र शक्ति अहिलेको आधुनिक उत्पादनमा छैन, त्यही भएर अर्गानिक खेतीमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गरेका छन् ।“ कृषि नै जीवन हो ।” जनतालाई पाल्ने काभ्रेका उद्धमशील श्रमको अभिनन्दन गर्न म यहाँ आएको हूँ” उनले भने ।

पौडेलले राजधानीमा रहेको कालीमाटी कृषि बजार मात्रैले नपुग्ने भएकाले यस्ता अरु चार पाँच वटा बजार आवश्यक भएको बताए । सो कार्यक्रममा राष्ट्रपति पौडेलले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका ६ जना कृषकलाई पुरस्कृत गरेका छन् ।

lcci
You might also like

Comments are closed.