रामपुरमा निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढीले सेवा लिए

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा चलेको निःशुल्क स्वास्थ्योपचार शिविरमा एक हजार बढीले सेवा लिएका छन् ।

पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८ औँ स्मृति दिवसको अवसरमा सुशील कोईराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना, रामपुर नगरपालिकाको सह–आयोजना, काठमाडांै मेडिकल कलेजको प्राविधिक सहयोग र कालीगण्डकी फाउण्डेशन नेपालको समन्वयमा शिविर भएको हो ।

बुधबार साँझ अबेरसम्म भएको शिविरमा एक हजार भन्दा बढीले सेवा लिएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिए । रामपुर आयुर्वेद अस्पतालको भवनमा भएको एक दिने शिविरमा काठमाडांै मेडिकल कलेजका विशेषज्ञ डाक्टरबाट विभिन्न रोगको जाँच तथा उपचार गरिएको छ ।

शिविरमा काठमाडौं मेडिकल कलेजका प्रबन्धक नारायणप्रसाद दहालको नेतृत्वमा आएका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरुले सेवा दिएका हुन् । जनरल मेडिसिन सेवा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, छाला तथा यौनरोग विशेषज्ञ सेवा, स्त्री तथा प्रसुती सेवा, नाक, कान, घाँटी सेवा, शल्यक्रिया, मानसिक तथा नशा रोग विशेषज्ञ सेवा, आँखा तथा दन्त रोग विशेषज्ञ सेवा, मुटुरोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा प्रदान गरिएको छ ।

सुशील कोइराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेशका संयोजक एवं नेपाली कांग्रेस लुम्बिनीका सभापति अमर सिं पुनले स्वर्गीय सुशील कोइरालाको स्मृतिमा प्रदेशका १२ वटै जिल्लामा स्वास्थ्य परीक्षण कार्यक्रम गर्ने योजना अनुसार कार्यक्रम भएको बताए । यसअघि ३ जिल्लामा सम्पन्न भइसकेको र अहिले पहिलो चरणमा पाल्पा, गुल्मी, अर्घखाँची र रोल्पामा कार्यक्रम हुन गइरहेको उनले बताए ।

प्रतिनिधि सभा सदस्य एवं कांग्रेस केन्द्रिय सदस्य डा. सुनिलकुमार शर्माले ग्रामीण भेगमा बसोबास गर्ने नागरिकलाई मध्यनजर गर्दै उनीहरुको स्वास्थ्योपचारमा सेवा प्रदान गर्न आयोजना गरिएको शिविरले ठूलो टेवा पुुग्ने बताए । अप्रेशन गर्नुपर्ने जटिल प्रकारका बिरामीलाई काठमाडौं मेडिकल कलेजमा यहि फागुन २८ गते निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको बताउँदै ७७ वटै जिल्लामा जाने अभियान अन्तर्गत रामपुरमा आइपुगेको बताएका छन् ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले शिविरमा काठमाडौं रिफर भएका बिरामीलाई यातायात खर्चको व्यवस्था गर्ने समेत प्रतिवद्धता जनाए । नगर सरकारले नागरिकको स्वास्थ्यका लागि प्राथमिकता दिएर बेला–बेलामा घुम्ती शिविर आयोजना गरी सेवा दिने गरिएको, ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्योपचार सेवा दिइरहेको नगर प्रमुख थापा बताउँछन् ।

नागरिकको स्वास्थ्य समस्या पहिचान गर्न र गम्भीर प्रकृतिका रोगबाट पिडित नागरिकको उपचार गर्नका लागि शिविर आयोजना गरिएको हो । नगर प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रम कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीको स्वागत, नगर स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले सञ्चालन गरेका हुन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.