रामपुरमा मेलमिलापकर्तालाई आधारभूत तालिम

रामपुर (पाल्पा) रामपुर नगरपालिका भित्रका मेलमिलापकर्ताहरुलाई आधारभूत तालिम प्रदान गरिएको छ । नगरपालिकाका वडाहरुमा हुने विभिन्न विवाद मेलमिलापका लागि मेलमिलापकर्ताहरुलाई तालिम दिईएको हो ।

‘हाम्रो समस्या हाम्रै समाधानः मेलमिलाप’ भन्ने नाराका साथ रामपुर नगरपालिकाको आयोजनामा भएको आठ दिवसिय तालिम आईतबार सकिएको छ । नगरकापालिकाका १० वटै वडाबाट सिफारिस भई आएका मेलमिलापकर्ता र जनप्रतिनिधिलाई मेलमिलाप सम्बन्धी तालिम दिईएको छ ।

मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको प्रक्रियाका आधारभूत चरण, सामाजिक न्याय, मानव अधिकार, लैंगिक समानता, सामाजिक समावेशीकरण, महिला अधिकार लगायतका विषयमा जानकारी दिइएको छ ।

मेलमिलापकर्तालाई प्रमाणपत्र वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले वडाका सबै नागरिकलाई न्यायको अनुभूति दिने गरी मेलमिलाप गर्न आग्रह गरे । उनले हरेक नागरिकले साँच्चिकै न्याय पाउँछ भन्ने भान हुने गरी काम गर्नुपर्ने बताए ।

साथै विचार र आस्था फरक भएपनि मेलमिलाप र न्याय सम्पादन ईमान्दारिताका साथ काम गर्नुपर्ने बताउँदै नगर प्रमुख थापाले कुनै पनि मुद्दा मामिला माथिल्लो निकायमा नजाने गरी मेलमिलापकर्ताको अधिकारको पूर्ण प्रयोग गरेर मेलमिलाप गर्न आग्रह गरेका छन् ।


कार्यक्रममा रामपुर नगरपालिकाका नगर उपप्रमुख बालकुमारी थापाले ईमान्दारिताका साथ हरेक विवादलाई मेलमिलाप मार्फत निरुपण गर्न आवश्यक रहेको बताइन् । उनले मेलमिलापकर्ताको क्षेत्राधिकारभित्र रहेर गाँउ टोलमा हुने विवाद र मुद्दालाई समाधान गर्न आग्रह समेत गरिन् ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले निष्पक्ष रुपमा न्याय सम्पादन गरेर मेलमिलापयुक्त नगर बनाउनुपर्ने बताए । नगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का वडाध्यक्ष कपिलबहादुर खाँणले तालिमबाट सैद्धान्तिक उपलब्धि प्राप्त भएकोले अब गाउँ समाजमा गएर सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे ।

तालिमका प्रशिक्षक हरिप्रसाद पण्डितले तालिममा सिकेका कुरा तालिममा मात्र सिमित नराखी व्यक्तिगत र सामाजिक जीवनमा प्रयोग गर्न अनुरोध गरेका छन् । रामपुर नगरपालिकाका नगर उपप्रमुख तथा न्यायीक समितिका संयोजक थापाको अध्यक्षतामा भएको आठ दिवसीय तालिम समापन कार्यक्रमको सञ्चालन न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले गरेकी हुन् ।

नगरपालिकाभित्रका ३० जना मेलमिलापकर्ताको सहभागिता रहेको तालिमको सहजिकरण अधिवक्ता द्वय गिता आचार्य र हरिप्रसाद पाण्डितले गरेका थिए ।

You might also like

Comments are closed.