दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध ४० हजारभन्दा बढी शेयर सदस्यहरुले सो मात्रामा दूध बिक्री गर्न नपाएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार विगत १५ दिनदेखि दूध नउठ्दा किसानले समस्या झेल्नु परेको हो । उनले दूध नउठ्दा समस्या भएको बताए । साउन यताको भुक्तानी रु ५२ करोड पाउन बाँकी भए पनि अहिले बिक्री हुन छाडेपछि किसान मारमा परेको उनको भनाइ छ ।

दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने चितवनबाट जिल्ला बाहिर दैनिक एक लाख ५० हजार लिटर दूध जाने गरेको छ । जसमध्ये ६० हजार लिटर दूध बिक्री हुन नसकेको हो ।

सरकारले किसानको पैसा दिने सहमति गरेपनि अहिलेसम्म किसनाले पैसा नपाएको र दूध समेत उठ्न छाडेको उनले गुनासो गरे । “सहमति भएको छ । तर कार्यान्वयनमा आएको छैन”, उनले भने, “सहमतिअनुसार आइतबारबाट दूध उठ्नु पर्ने भएपनि आजसम्म दूध उठेको छैन ।”

दूध लैजाने उद्योगहरुले समर्थन मूल्यभन्दा कममा लैजाने गरेको भन्दै उनले उपभोक्ताले महङ्गो मूल्यमा दूध खानु परेको बताए । दूध नउठ्ने र पैसा पनि नपाउने समस्या रहिरहे आन्दोलनमा जानुको विकल्प नभएको उनी बताउँछन् । चितवनसहित पाँच जिल्लाका किसानले एकसाथ आन्दोलनमा जाने तयारी गरेको उनको भनाइ छ । रासस

You might also like

Comments are closed.