जुनियर तथा युवा रेडक्रसको ५९ औँ स्थापना दिवस सम्पन्न

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रसको ५९ औँ स्थापना दिवस “विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीयरूपमा सशक्तिकृत : जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा” भन्ने मूल नाराका साथ देशव्यापी रूपमा मनाइएको छ ।

आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भौतिक रूपमा आयोजित कार्यक्रममा प्रदेश तथा जिल्ला तहबाट भर्चुअल रूपमा कार्यक्रम गरिएको छ । रेडक्रसका युवा स्वयम्सेवकहरूको सक्रियता र व्यवस्थापनमा सञ्चालित सो कार्यक्रमको उद्घाटन युवा स्वयम्सेवकहरू रविना चौँलागाईं र सुरजकुमार सिंहले संयुक्त रूपमा गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालको अध्यक्षतामा भएको हो । कार्यक्रमका प्रमुख अतिथि सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले रेडक्रसमा आवद्ध जुनियर युवालाई मानवीय सेवाका विभिन्न गतिविधिमा सहभागी गराउँदै उनीहरूको सीप र दक्षता अभिबृद्धि गरी अगाडि ल्याउने संस्थाको उद्देश्य रहेको बताए ।

जलवायु परिवर्तनबाट उत्पन्न समस्यालाई सम्बोधन गर्न हाल रेडक्रसका युवाहरूबाट सञ्चालन भइरहेको परिवर्तक (द चेन्जमेकर) अभियानबाट महत्वपूर्ण योगदान पुग्ने बताउँदै अभियानको पूर्ण सफलताको कामना गरे । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सोसाइटीले नीतिगत र कार्यक्रमगत तहमा युवाहरूको भूमिकालाई विधानमा कसरी व्यवस्थित गरेर लैजान सकिन्छ भन्ने विषयमा छलफल तथा सुझाव सङ्कलन गरिरहेको जानकारी दिए ।

कार्यक्रमका सभापति एवं राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालले जुनियर युवा रेडक्रसको इतिहासमाथि प्रकाश पार्दै सबै जिल्लाका शिक्षण संस्था र समुदायमा जुनियर तथा युवाहरूको संलग्नतामा मानवीय सेवा प्रदान गर्ने सञ्जालको रूपमा नेपाल जुनियर र युवा रेडक्रस सर्कलहरूको स्थापना, विकास र विस्तार हुँदै आएको बताए ।

जुनियर तथा युवा रेडक्रसलाई नीतिगत रूपमा सबलीकृत गर्दै लैजाने सन्दर्भमा पहिलो पटक २०५६ सालदेखि राष्ट्रियस्तरमा जुनियर तथा युवा रेडक्रस नीति तथा कार्यप्रणाली तर्जुमा गरी कार्यान्वयनमा रहेको उनी बताउँछन् । संयोजक नेपालले समय सापेक्ष रेडक्रसको विधान संशोधन हुने प्रक्रियामा रहेको सन्दर्भमा रेडक्रसको संरचना अस्तित्वमा रहने सवै निकायहरूमा (पालिकादेखि राष्ट्रियस्तरमा) युवा सञ्जालको निर्माण गरी विधिवत रूपमा केन्द्रीयस्तरमा समेत युवा परिषद् गठन गर्ने र सो परिषद्को संयोजक नेरेसो केन्द्रीय कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था हुनेगरी व्यवस्था गर्न पैरवी भइरहेको हँुदा नीति निर्माण तहमा युवाको सहभागिता सुनिश्चितता गर्ने पहल भइरहेको जानकारी गराए ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल कार्यक्रम संयोजक हार्भे गजेउले चेञ्जमेकर अभियान प्रभावकारी रूपमा सञ्चालन गरेकोमा रेडक्रसका युवाहरूलाई धन्यवाद दिँदै युवाहरूको पहल र इच्छा शक्तिको प्रशंसा गरे । द चेञ्जमेकर (परिवर्तक) अभियान महासंघको सहयोगमा सञ्चालन भइरहेको छ ।

सो कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपाल रेडक्रस सोसाइटी जुनियर युवा विभागका निर्देशक धर्मदत्त विडारीले जलवायु परिवर्तनका क्षेत्रमा रेडक्रसका युवाद्वारा सञ्चालित परिवर्तक (चेञ्जमेकर) अभियानका बारेमा जानकारी गराउने, अभियानलाई देशव्यापी बनाउने र अन्य मानवीय सेवाका क्षेत्रमा युवाको सहभागितालाई अझ बढाउने कार्यक्रमको उद्देश्य रहेको बताए ।

चेञ्जमेकर अभियान कोर टिमका सदस्य युवा सुजन खतिवडाले गत डेढवर्षदेखि अभियानद्वारा सञ्चालित गतिविधिहरूका बारेमा प्रस्तुतीकरण गर्दै जलवायु परिवर्तनको मुद्दामा युवाका सिर्जनात्मक विचारलाई अगाडि ल्याउन र अभियानलाई व्यापक बनाउन प्रदेश र जिल्ला स्तरमा Y-adapt तालिमहरू सञ्चालन गरिएको जानकारी गराए ।

कार्यक्रममा अभियानका क्रममा युवाद्वारा तयार पारिएका जलवायु परिवर्तनसम्बन्धी ७ वटा भिडियोहरू प्रदर्शन गरिनुका साथै सुझावहरू सङ्कलन गरिएको छ । जुनियर युवा रेडक्रसको सुदृढीकरण, स्रोत सङ्कलन र परिवर्तक अभियानलाई रेडक्रस सञ्जालमा जोड्ने विषयमा युवा प्रतिनिधि, रेडक्रसका केन्द्रीय पदाधिकारी, कर्मचारी र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधिको सहभागितामा समूहगत छलफल गरिनुका साथै निष्कर्षहरू प्रस्तुतीकरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापा, केन्द्रीय सदस्यहरू नारायण तिमिल्सिना, राजेन्द्रमान ताल्चाभँडेल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, उपकार्यकारी निर्देशक सुदर्शन अधिकारी, निर्देशक एवं विभागीय प्रमुख र कर्मचारीहरू, काठमाडौं उपत्यकाका जिल्ला शाखाका पदाधिकारी र सदस्यहरू, युवा प्रतिनिधिहरू र महासंघको नेपालस्थित कार्यालयका प्रतिनिधि र साझेदार राष्ट्रिय सोसाइटीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

चेञ्जमेकर अभियानका युवा सदस्यहरू प्रतिभा दवाडी, केपी शर्मा, बन्दना पोखरेल र विशाल थारूले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रमको अवसरमा युथ रेडक्रस सर्कल त्रिचन्द्रकी साबित्री कडेंलले सहभागीलाई स्वागत गरेकी हुन् ।

‘म सेवा गर्छु’ भन्ने मूल मन्त्रका साथ २०२१ साल फागुन २२ गतेका दिन जुनियर युवा रेडक्रसको स्थापना भएको हो । हाल देशभरमा ६ हजार ६३२ जुनियर तथा युवा रेडक्रस सर्कलमा ९ लाख ७० हजार ३१० जुनियर युवा सदस्यहरू आवद्ध भई मानवीय सेवाका गतिविधिहरूमा संलग्न भइरहेका छन् ।

You might also like

Comments are closed.