काठमाडौं । प्रतिष्ठित व्यावसायिक समूह लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । कर्पोरेट मिडिया ग्रुपले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई सो अवार्ड प्रदान गरेको हो ।
पोखरामा साधारण परिवारमा जन्मिएर किराना पसल र फोटोग्राफीबाट व्यापारको यात्रा सुरू गरेका थिए । विभिन्न उतारचढावसँगै व्यापार विविधिकरण गर्ने क्रममा उनले उत्पादनतर्फ कन्फेस्नरी, प्लाष्टिक र डेरी, ट्रेडिङतर्फ जयमाँ लक्ष्मी ट्रेडिङ, अटोमोटिभ्स र इलेक्ट्रोनिक्स तथा इन्फ्रास्ट्रक्चरतर्फ सिद्धी लक्ष्मी स्टिल उद्योगलाई लक्ष्मी ग्रुपको छातामुनि स्थापना गरेका छन् । पछिल्लो समय हुण्डाइको गाडी बेच्ने मात्र नभइ नेपालमै एसेम्बलिङ गर्ने तयारी लक्ष्मी ग्रुपले गरेको छ ।
आर्थिक चुनौतीलगायत विभिन्न आरोह र अवरोह झेल्दै नेपालको औद्योगिक विकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको कर्पोरेट मिडियाका अध्यक्ष उज्वल जंग शाहले जानकारी दिए ।
उनका अनुसार आइतबार काठमाडौंको होटेल हायात प्लेसमा १६ औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ आयोजना गरी प्रमुख अतिथि विद्युत् निमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंह, अवार्ड छनोट समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वध्यक्ष भवानी राणा, कर्पोरेट मिडियाका अध्यक्ष उज्वल जंग शाह, उपाध्यक्ष, सुष्मा महरा र कर्पोरेट मिडियाकी बिजनेश डिरेक्टर संगीता खत्रीलगायतबाट श्रेष्ठलाई अवार्ड प्रदान गरिएको हो ।
कर्पोरेट मिडिया ग्रुपले हरेक वर्ष उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रलाई समेटेर अवार्ड प्रदान गर्दै आएको छ । यो वर्ष चार जनालाई ‘कर्पोरेट बिजनेश लिडरशीप अवार्ड’ र विभिन्न क्षेत्रलाई समेटेर प्रतिनिधिमूलक ढङ्गबाट २५ जनालाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको कर्पोरेट मिडियाका अध्यक्ष उज्वल जंग शाहले जानकारी दिए ।
को हुन् गणेश बहादुर श्रेष्ठ ?
वि.स. २००३ सालमा बुबा दिलबहादुर श्रेष्ठ र आमा पुतलीदेवी श्रेष्ठको कान्छो छोराका रूपमा पोखराको बागबजारमा जन्मिएका गणेश बहादुर श्रेष्ठ हाल प्रतिष्ठित व्यावसायिक समूह ‘लक्ष्मी ग्रुपका अध्यक्ष छन् । पोखराकै मल्टिपल नेशनल हाइस्कुलबाट विद्यालय शिक्षा हासिल गरेका उनले आफ्नो परिवारको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्न पाएनन् । तर, नेपालको औद्योगिक विकासमा महत्वपूर्ण योगदान दिन भने सफल बने ।
अध्ययन रोकिएपछि जीविकोपार्जनका लागि उनले किराना पसल र फोटोग्राफीलगायत विभिन्न काम गरे । त्यसबाट पनि सन्तुष्ट नभएका उनले वि.स. २०२१ सालमा पोखराकै पीएन क्याम्पसमा टाइपिस्टका रुपमा काम गरे भने २०२३ सालमा तत्कालीन भूमि सुधारमा खरदारको रुपमा तीन वर्ष पाल्पामा रही काम गरे ।
तर, नोकरीमा पनि सन्तुष्ट बन्न नसकेका श्रेष्ठले स्वरोजगार बन्ने उद्देश्य बोकेर २०३६ सालमा आफ्नो पुख्र्यौली पेसा पुष्टकारी बनाउने काम अँगाले । बुबा र बाजेले सामान्य ढङ्गबाट गर्दै आएको सो पेसालाई उनले व्यवस्थित गरी मास प्रडक्टतिर लगे । २०३० सालमा बुटवलमा ‘लक्ष्मी मिठाइ भण्डार’ नामाकरण गरी पुष्टकारी र चकलेटहरूको उत्पादन सुरू गरे । त्यसअघि नै बुटवलमा चकलेट बनाएर असफल भएका व्यक्तिहरूले दिएको साधारण उपकरणमार्फत लक्ष्मी मिठाइ भण्डारलाई त्यहाँको औद्योगिक क्षेत्रभित्र स्थानान्तरण गरे ।
चकलेट बनाउन सुरू गर्दा अधिकांशले उनलाई पत्याएका थिएनन् । तर, कठोर सङ्कल्प, दिनरातको खटाइ र निरन्तरको मेहनतका कारण अन्ततः सफल भएरै छोडे । त्यतिमात्र होइन अहिले नेपाली चकलेटको बजारमा ६० प्रतिशत हिस्सा लक्ष्मी ग्रुपअन्तर्गतको कम्पनीले ओगट्दै आएको छ ।
तत्कालीन समयमा खासा हुँदै चीनसम्म आफ्नो उत्पादन निर्यात गरेको स्मरण गर्दै कामलाई कहिल्यै सानो ठान्न नहुने उनी बताउँछन् । विभिन्न उतारचढावसँगै व्यापार विविधिकरण गर्दै अघि बढेका श्रेष्ठ प्लाष्टिक र डेरीको व्यापार हुँदै हुण्डाइको गाडी बेच्नेदेखि एसेम्बलिङ गर्नेलगायत थुप्रै उद्योगहरू लक्ष्मी ग्रुपको छातामुनी स्थापित गर्न सफल भएका छन् ।
पछिल्लो समय लक्ष्मी ग्रुपअन्तर्गतका अधिकांश कामहरू आफ्ना छोराहरू अञ्जन श्रेष्ठसहितलाई सुम्पिइ गणेश बहादुर भने सामाजिक काममा क्रियाशील रहँदै आएका छन् । पोखराको विन्दबासिनी मन्दिर व्यवस्थापनका लागि बनेको ‘विन्दवासिनी धार्मिक क्षेत्र विकास कोष’मा २२ वर्ष कोषाध्यक्ष र १५ वर्षदेखि अध्यक्षका रूपमा रहेका उनले मन्दिरको आम्दानीबाट निःशुल्क स्कुल र अस्पताल सञ्चालन गर्दै आएका छन् ।
राज्यले जान्ने हो भने पुजारी नहटाइक नै त्यहाँको आम्दानीबाट विश्वविद्यालय र राम्रा अस्पतालहरू चलाउन सकिने उनी बताउँछन् । विन्दवासिनीको आम्दानीबाट निःशुल्क रूपमा गुरुकुल विद्यापीठ सञ्चालनको तयारी र नेचुरल केयर हस्पिटल सञ्चालन भइरहेका छन् । राज्यले साँच्चै समृद्ध नेपालको नारा अघि सारेको हो भने त्यसलाई साकार पार्न ‘योङस्टार’हरूलाई उद्योग र व्यवसायसँग जोड्दै अघि बढाउनुपर्ने तथा राज्य सञ्चालनमा समेत ज्येष्ठ नागरिकलाई सम्मान दिएर युवालाई अघि सार्नुपर्ने विचार उनको छ ।
आफूले स्थापना गरेका उद्योग व्यवसायको जिम्मा आफ्नो छोराहरूलाई दिँदा थप मजबुत बनेको दृष्टान्त उनले दिए । इच्छाशक्ति र लगनशीलता हुँदा कुनै पनि काम गर्न पैसा नचाहिने र चुनौतीभित्र सफलता हुने भएकाले चुनौतीबिनाको काम नहुने उनी बताउँछन् । चुनौतीभित्र अवसर खोज्ने व्यक्ति कहिल्यै असफल नहुने भनाइ उनको छ ।
Comments are closed.