पाल्पाको रामपुरमा सम्पन्न राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सकिएको छ ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवद्र्धन तथा मुख्य प्रायोजक, जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नेपाल भलिबल संघको संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल संघ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य संघको प्रवद्र्धनमा भएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रतियोगितामा उपाधि विभागीय टिम एपीएफले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लवले उपाधि चुम्न सफल भएको छ ।

फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले पहिलो र दोस्रो सेट १८–२५, १७–२५ अंकका साथ गुमाएको थियो । तेस्रो, चौथो र पाचौँ सेटमा २५–१९, २५–१७ र १८–१६ अंक सहित जित निकाल्दै एपीएफले उपाधि हात पार्न सफल भएको छ ।

एपीएफसंग फाइनल खेलमा प्रतिष्पर्धा गरेको बागमती उपविजेता बनेको छ । प्रतियोगितामा लु्म्बिनी प्रदेशले तृतीय स्थान ओगटेको छ । कोशीलाई ३–० को सोझो सेटमा हराउँदै लुम्बिनीले तृतीय स्थान ओगट्न सफल भएको हो । लुम्बिनीले २५–१०, २५–१६ र २५–२२ अंकका साथ जित हात पारेको छ भने यससंगै कोशी प्रदेशले सान्त्वना स्थान हासिल गरेको छ ।

jutta mela

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समुहलाई क्रमशः नगद रु दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार सहित साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले पुरस्कार वितरण गर्दै रामपुरमा राष्ट्रियस्तरको खेल हुनु महत्वपूर्ण कुरा रहेको बताए । उनले खेलाडीलाई बौद्धिक सम्पतीको रुपमा लिनु आवश्यक रहेको बताए।

लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले पूर्वाधारको अभावमा राष्ट्रियस्तरका अन्य खेल सञ्चालनमा समस्या भएको भन्दै पूर्वाधार निर्माणमा जोड दिने प्रतिवद्धता जनाएका छन् ।

प्रतियोगितामा एपीएफका सरस्वती चौधरी उत्कृष्ट खेलाडी, एपीएफका निरुता थगुन्ना उत्कृष्ट सर्भर, महेश चौधरी उत्कृष्ट कोच, बागमतीका प्रगति नाथ उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर, सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर र लुम्बिनीका मिना सुनारलाई उत्कृष्ट स्पाईकर घोषित गरिएको छ ।

गत फागुन १८ गतेदेखि ६ दिनसम्म भएको खेलमा ८ समुहको सहभागीता रहेको थियो । रामपुरमा पहिलो पटक राष्ट्रियस्तरको खेल आयोजना भएकाले पनि यस क्षेत्रका स्थानीयमा खेल क्षेत्रमा उत्साह थपिएको छ ।

समापन कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरे लगायतले सदरमुकाम देखि टाढा रहेको रामपुरमा राष्ट्रियस्तरको खेलकुदले यस क्षेत्रको पहिचानका साथै पर्यटन तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने बताएका छन् ।

जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको स्वागत र जिल्ला भलिबल संघ पाल्पाका महासचिव कृष्ण आलेले सञ्चालन गरेका हुन् । रामतुलसी नमुना माध्यमिक विद्यालयको खेलमैदान रामपुर ५ बेझाडमा खेल आयोजना गरिएको खेलमा दर्शकको उत्साहजनक उपस्थिती थियो ।

 

You might also like

Comments are closed.