फुङ्लिङ (ताप्लेजुङ) । कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा तीन महिनामा ६५० बाह्य पर्यटकले भ्रमण गरेका छन् ।
कचञ्चनजङ्घा क्षेत्रमा दुई याममा पर्यटक भम्रण गर्ने गर्दछन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सूचना अधिकारी दोभान लिम्बूले चालु आर्थिक वर्षको पहिलो याम असोज, कात्तिक र मङ्सिरसम्म कञ्चनजङ्घा हिमालको आधार शिविरको ६५० जना बाह्य पर्यटकले अवलोकन गरेको बताउँछन् ।
त्यत्तिकै सङ्ख्यामा आन्तरिक पर्यटकले समेत कञ्चनजङ्घा क्षेत्रको अवलोकन गरेको भनिएतापनि आन्तरिक पर्यटकको तथ्याङ्क भने अहिलेसम्म राख्ने व्यवस्था नभएको परिषद् कार्यालयले जनाएको छ । यस क्षेत्रमा पर्यटकको आगमनले होटल व्यवसायी उत्साहित भएका छन् । दोस्रो याम चैत, वैशाख र जेठ महिनामा हुने पर्यटन व्यवसायीको भनाइ छ । अहिले दास्रो याम सुरु हुने समय भएको छ ।
गत वर्ष ४३९ बाह्य पर्यटकले अवलोकन गरेका थिए । गत वर्षका तुलनामा चालु आवमा २११ बाह्य पर्यटक वृद्धि भएको परिषद्को तथ्याङ्कले जनाएको छ । विस्तारै पर्यटकको आगमनसँगै पर्यटन व्यवसाय लयमा फर्कन थालेका छन् । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र विस्तारै लयमा फर्किन थालेको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए ।
कञ्चनजङ्घा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो । विस्तारै पर्यटकको आगमनले पर्यटन व्यवसायी तथा होटल व्यवसायी उत्साहित भएका छन् । कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानो–ठूलो लगानीको ५२ होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्क छ ।
फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु ७ करोडभन्दा माथिको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चलनमा छ । समुद्र सतहबाट ३५ सय मिटरदेखि ४५ सय मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए ।
अन्य रु ८० लाखदेखि माथिका लगानीमा होटल सञ्चालनमा रहेको चेम्जोङको भनाइ छ । पहिल्लो समयमा पर्यटकको आगमनले पर्यटन व्यवसायी तथा होटल सञ्चालक उत्साहित भएको घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताए । विसं २०७६/०७७ मा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा हिमालमा आएको परिषद्को तथ्याङ्कमा उल्लेख छ ।
सार्क राष्ट्रबाट २५ पुरुष र चार महिला पर्यटक कञ्चनजङ्घा हिमालमा आएका हुन् । कञ्चनजङ्घा हिमालमा आउने विदेशी पर्यटकको तथ्याङ्कलाई २१ वर्ष पछाडि फर्केर हेर्दा विसं २०५६ मा पुग्न सकिन्छ । विसं २०५६ मा ७९९ विदेशी पर्यटक कञ्चनजङ्घा घुमघाम गर्न आएको तथ्याङ्क छ । विसं २०५७ मा ८७३ विदेशी पर्यटक आएका छन् भने २०५७ देखि २०७७ सम्म ११ हजार १९७ विदेशी पर्यटक कञ्चनजङ्घा हिमाल अवलोकन गर्न आएको परिषद्को तथ्याङ्कले देखाएको छ ।
कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्नका लागि दुईवटा पदमार्ग प्रयोग हुदैँ आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका हुँदै पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्ने गर्दछन् । यो पदर्माग (साउथ रुट)मा पर्ने कञ्चनजङ्घा व्यवस्थापन परिषद्को याम्फुदीन कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताएका छन् ।
काठमाडौंदेखि हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म पुगेर फक्ताङलुङ गाउँपालिका हुँदै कञ्चनजङ्घा हिमालको आधार शिविर पुगिन्छ । यो पदर्माग (नर्थ रुट)मा पर्दछ । कञ्चनजङ्घा क्षेत्र जाने पर्यटकको विवरण कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले राख्दै आएको छ । रासस
Comments are closed.