काठमाण्डौं । यौन तथा प्रजनन् स्वास्थ्य सेवाको सेवा प्रदायक संस्था मेरी स्टोप्स इन्टरनेसनल नेपालले बिहीबार संयुक्त रूपमा पाठेघरको मुखको क्यान्सर परिक्षण र रोकथामका लागि सचेतना अभियान घोषणा गरेको छ ।
निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँगको साझेदारी र अष्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागको सहयोगमा अभियानको घोषणा गरिएको हो ।
अभियान लागू हुने जिल्लाहरुमा पाठेघरको मुखको क्यान्सरको परिक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पुग्ने उद्धेश्यले अभियान सुरु गरिएको छ ।
पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा पर्दछ । पाठेघरको मुखको क्यान्सरका कारण महिलाले अकालमै ज्यान गुमाउनु परेको तथ्याङ्कले देखाउँछ । सन् २०२२ मा मात्रै २१ सय ६९ महिलामा पाठेघरको मुखको क्यान्सर भएको भएको र १३ सय १३ जनाले आफ्नो ज्यान गुमाउन बाध्य छन् ।
अभियान सञ्चालनका लागि एनसेलको बृहत् नेटवर्क, सामाजिक सञ्जाल र मेरी स्टोप्स इन्टरनेशनल नेपालको समुदायस्तरमा रहेको उपस्थितिको उपयोग, पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा जानकारी फैलाउन विभिन्न सञ्चार माध्यमहरू प्रयोग गर्ने बताइएको छ ।
यही महिना अर्थात मार्च २०२४ देखि सञ्चालन हुने यस सचेतना अभियान अन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलालाई लक्षित गरी विभिन्न क्रियाकलापहरु सञ्चालन, एनसेलको सेवा सञ्जालको पहुँचलाई उपयोग गर्दै पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचार, आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र सामुदायिक संलग्नता लगायत विभिन्न सञ्चार माध्यमको प्रयोग गरिनेछ ।
सचेतना अभियान अन्तर्गत सञ्चालन गरिने मुख्य–मुख्य क्रियाकलापमा आमसञ्चार माध्यमद्वारा सचेतनामूलक अभियान सञ्चालन गर्ने; पाठेघरको मुखको क्यान्सरको रोकथाम र उपचारसम्बन्धी जानकारीलाई लक्षित समूहसम्म प्रभावकारी ढंगले पु¥याउन विभिन्न सरकारी निकायहरु तथा संघसंस्थासंग सहकार्य एवम् साझेदारी गर्ने; टेलिभिजन र रेडियोबाट सचेतनामुलक कार्यक्रम, सूचनाहरू सम्प्रेषण गर्ने बताइएको छ ।
यस्तै सोशल मिडिया इन्फ्लुएन्सरहरूसंग सहकार्य गर्ने; पाठेघरको मुखको क्यान्सर रोकथाम र खोपसम्बन्धी सचेतनामुलक दृश्य श्रव्य सामग्रीहरु तयार पारी प्रसारण गर्ने; एनसेलसंगको सहकार्यमा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘वाकाथन’ को आयोजना गर्ने; अभियानका सन्देशलाई आउटबाउन्ड रिङटोन र एसएमएसमार्फत लक्षित वर्गसम्म पु¥याउने जस्ता कार्यक्रमहरु रहेको जानकारी दिइएको छ ।
यसवर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मेरी स्टोप्स इन्टरनेशनल नेपालले ५० जना सेवाग्राहीलाई निःशुल्क स्क्रिनिङ सेवा प्रदान गर्नेछ ।
Comments are closed.