पूर्वाधार निर्माण र प्रशिक्षणमा वडाले जोड दिनेछ : वडाध्यक्ष रामबहादुर राना

रामपुर (पाल्पा) । खेलकुद क्षेत्रलाई प्राथमिकता दिदै पूर्वाधार निर्माण र खेलाडीलाई प्रशिक्षण कार्यमा जोड दिने पाल्पाको रामपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष रामबहादुर रानाले बताए ।

रामपुर नगरपालिका वडा नं ४ का खेलाडीलाई सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष रानाले खेल क्षेत्रको उत्थानका लागि पहल गर्ने र भौतिक पूूर्वाधारको अभावमा वडाभित्र खेलकुदका गतिविधि सञ्चालनमा कठिनाई भएको बताउँछन् ।

उनले वडाभित्र खेलकुदको पूर्वाधार निर्माण र खेल क्षेत्रमा खेलाडीलाई प्रोत्साहन गराउँदै राष्ट्रियस्तरसम्म प्रतिष्पर्धा गर्न सक्ने बनाउन प्रशिक्षणमुुलक कार्यमा जोड दिने बताएका छन् । खेलाडीले खेलमार्फत वडाको पहिचान स्थापित गर्न सफल भएकोमा वडाध्यक्ष रानाले बधाई सहित शुभकामना दिए ।

वडा खेलकुद विकास समितिका अध्यक्ष मोहम्मद असगर अलिको अध्यक्षतामा कार्यक्रम गरी छैठौँ मेयर कपमा विभिन्न विद्यामा उत्कृष्ट स्थान हासिल गर्दै वडालाई रनिङ शिल्डको उपाधि दिलाउन सफल खेलाडी, वडाबाट जिल्ला तथा प्रदेशको प्रतियोगितामा पुग्न सफल खेलाडी, पूर्व खेलाडी, टिम कोच, व्यवस्थापक, प्रशिक्षक तथा रेफ्रीलाई सम्मान गरिएको हो ।

jutta mela

वडा खेलकुद विकास समितिको आयोजना र वडा कार्यालयको संरक्षणमा मेयर कप अन्तर्गत भएको फुटबल प्रतियोगितामा द्धितिय, व्याडमिन्टनतर्फ प्रथम र द्धितिय स्थान, महिला भलिबलतर्फ द्धितिय स्थान हासिल गर्न सफल खेलाडीलाई सम्मान पत्र र नगदले सम्मान गरिएको छ भने अन्य खेलाडीलाई सम्मान पत्रले सम्मान गरिएको वडाले जनाएको छ ।

रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले सिमित स्रोत र साधनका कारण सबै विधाका खेललाई अझै समेट्न नसकिएको र खेलकुदले व्यक्तित्व विकाससंगै राष्ट्र र समाजको पहिचान स्थापित गर्न सहयोग गर्ने बताए ।

कार्यक्रममा जिल्ला भलिबल संघका सदस्य कमल राना, वडा सदस्य मोहन सिं राना, नेपाली कांग्रेस रामपुर ४ का सभापति थर्कबहादुर राना, नेकपा एमाले रामपुर ४ का दिलबहादुर कौसी, रेवतीपोखरा टोल विकास समितिका संयोजक विमल श्रेष्ठ, शहीद बहुमुखी क्याम्पस स्ववियु सभापति ल्याकत अली, समाजसेवी क्याप्टेन धनबहादुर श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका नगर सदस्य टेकबहादुर क्षेत्री, अभिभावक हमिद मियाँ र रानीवन तथा बडभान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सीता प्रधानले खेलकुदको विकासका लागि प्रशिक्षणमा लगानी गर्नु आवश्यक रहेको बताएका छन् ।

वडाको सभाहलमा भएको कार्यक्रममा स्वागत वडा सदस्य मोहम्मद ताजिम शेख र सञ्चालन वडा खेलकुद विकास समितिका सचिव लक्ष्मण मश्राङ्गीले गरेका हुन् । कार्यक्रमको अवसरमा वडा खेलकुद विकास समितिले छैठौँ मेयर कपमा प्राप्त भएको रनिङ शिल्ड सहित ट्रफी वडा कार्यालयलाई प्रदान गरेको छ ।

You might also like

Comments are closed.