गिद्धको बासस्थान संरक्षणमा महोत्तरीमा सामाजिक सङ्घसंस्थाको चासो

महोत्तरी । लोपोन्मुख पंक्षी गिद्धको बासस्थान फेला परेपछि महोत्तरीका सामाजिक सङ्घसंस्थाले त्यसबारे चासो बढाएका छन् ।

जिल्लाका चुरे पर्वत श्रेणीमा पर्यटन विकासको सम्भावना खोजी गर्न पदमार्ग निर्माण थालेका सामाजिक सङ्घ संस्थाले बर्दिबास–३ को राईमण्डल धार्मिकक्षेत्रको शिरअवस्थित चुरे शृङ्खलाको थुम्कोमा गिद्धको बासस्थान फेला परेपछि त्यसको संरक्षणमा जोड दिएका हुन् ।

बर्दिबास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र बर्दिबास नगरपत्रकार सञ्जालले यही फागुनदेखि संरक्षण अभियान थालेका हुन् । तराईका फाँटमा गिद्ध बस्ने ठूलाठूला सिमलका रुख मासिएसँगै लोपोन्मुख यी पक्षी बर्दिबास–३ को राईमण्डल धार्मिकक्षेत्रको चुरे पर्वत श्रेणीको थुम्कोमा बथानमै देखा परेका हुन् । लोपोन्मुख गिद्धको बासस्थान देखिएपछि अब यिनको संरक्षणबारे सोच्न आवश्यक भएको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्का बताउँछन् ।

“गिद्धको बासस्थान नजिकका गुफा र रुखको संरक्षणमा अब योजनाबद्ध पहलकदमी आवश्यक छ” खड्काले भने, “यसबारे वनसम्बद्ध र बर्दिबास नगर कार्यपालिकाको कार्यालयले चासो बढाउनुपर्छ ।” पहाडी थुम्कोमा अहिले लोपोन्मुख पक्षी गिद्ध एक सय भन्दा बढी रहेका उनले बताए ।

पदमार्ग यात्राका सहभागीले पहिलो पटक गिद्ध बासस्थान देखे पनि राईमण्डल शिरका बासिन्दा यो गिद्धको पुरानो थातथलो रहँदै आएको बताउँछन् । दुई दशक पहिले यहाँ फुल पार्न र बच्चा कोरल्न बस्ने र अन्य समय आहाराको खोजीमा यहाँका गिद्ध बाहिर जाने गरेका राईमण्डलका ६० वर्षीय दिलबहादुर राना मगर बताउनुहुन्छ ।

पहिले निकै ठूलो बथान भए पनि चर्न जाँदा सिनोमा विषादीको असरले धेरै मरेपछि गिद्धको सङ्ख्या निकै खस्केको बताउँछन् । दुई दशकअघिसम्म महोत्तरीका भारतीय सीमावर्ती बस्तीसम्म बाक्लै देखिने गिद्ध अब देखिँदैनन् । मरेका पशुबस्तुको सिनो मुख्य आहारा र ठूलाठूला सिमलका रुख बासस्थान गिद्धको हुनेगथ्र्यो तर सिमलका रुख सबै मासिएपछि गिद्ध हराउँदै गएर अब देखिनै छाडेका जिल्लाका मध्य र दक्षिणीक्षेत्रका बासिन्दा बताउँछन् ।

मकैखेती गर्ने किसानले बोटमै घोगा खोसलेर दुःख दिने स्याल नियन्त्रणका लागि बगरमा फालिएको सिनोमा विषादी मिलाउँदा त्यसको असरले सयौँ गिद्ध मरेका १५ वर्षअघिको घटना भङ्गाहा–५ सीतापुर धतियाटोलका ७० वर्षीय योगेन्द्र यादव सम्झन्छन् ।
“त्यसयता गिद्ध देखिएकै छैनन्, सिमल पनि मासिए” यादवले भने ,“अहिले बर्दिबासको राईमण्डलतिर बथानमै गिद्ध देखिएका सुनिन्छ, अहिले बर्दिबासमा बथान भेटिएको सुन्दा हेर्न जाउँजाउँ लागेको छ ।”

गिद्ध र यिनका बासस्थान संरक्षणका लागि अब मुख्य रुपले स्थानीयतहले पहलकदमी लिनपर्ने बर्दिबास नगरपत्रकार सञ्जालका सचिव विशाल बस्नेत बताउँछन् ।

“पश्चिमतिर (नवलपरासी, दाङ) गिद्ध संरक्षणमा योजनाबद्ध काम थालिएको सुनिन्छ, त्यसको अवलोकन गरेर यहाँ पनि अनुकरण गर्नसके यी लोपोन्मुख पक्षीको संरक्षणमा बल पुग्नेछ” बस्नेतले भने ।
स्थानीय तह, वनसम्बद्ध निकाय र स्थानीय सामाजिक सङ्घसंस्थाले संरक्षण कार्यारम्भ गरे लिए यो सम्भव रहेको बस्नेत बताउँछन् । बथानमै गिद्ध देखिएपछि नवलपरासीमा सञ्चालनमा रहेको जटायु रेस्टुराँ र त्यहाँ हुने गिद्धको चहलपहल अवलोकन गर्ने रहर जागेको उनले बताए ।

यसपालि फागुन लागेसँगै सुरु गरिएको चुरे पर्वत श्रेणीको पदमार्ग यात्राका क्रममा पर्यटन प्रवद्र्धनका धेरै सम्भावना देखिएमध्ये गिद्धको बासस्थान मुख्य भएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीको भनाइ छ ।

“पदयात्राका क्रममा हामीले यहाँको पर्यटन प्रवद्र्धनका कैयौँ सम्भावना देख्यौँ, जसमा राईमण्डल धार्मिकक्षेत्र, सिद्धगुफा, परेवापाखा, दुर्लभ जडीबुटीका लामो फाँट, पहाडी रहनसहन र स्थानीय लोकपरम्परा छन्” कार्कीले भने, “यससँगै बथानमै भेटिएका गिद्ध पक्षी, मयूर र अन्य वन्यजन्तुको संरक्षणका विषय छन्, ठाउँ छन्, हामीले तत्परता देखाउन सक्नुप¥यो ।”

अहिलेसम्म तीन साताको पदमार्ग यात्रामा बर्दिबास–१ र ३ मात्र सकिएको छ । महोत्तरीमा पर्ने चुरे सबै बर्दिबास नगरक्षेत्रमै पर्छ । पूर्व–पश्चिम राजमार्गमा जिल्लाको दुरी १८ किलोमिटर मात्र भए पनि पहाडी खोचमा यो दूरी झण्डै ४० किलोमिटर परको छ । पाहाडी गोरेटो बाटो छिचोल्दै स्थानीय जनजीवन बुझेर पर्यटकीय सम्भावनाबारे अध्ययन, छलफल गर्दै हिँडिदा आपूmहरुको यात्रा पूरा हुन दुई महिना लाग्ने पदमार्ग यात्रीको आकलन छ ।

पदमार्ग यात्रामा सहभागी तीनवटै संस्थाले यो टुङ्गिएपछि स्थानको परिचय, महत्व र सम्भावनाबारे प्रतिवेदन बर्दिबास नगर कार्यपालिकाको कार्यालय, मधेश प्रदेश मन्त्रिपरिषद् सचिवालय र प्रधानमन्त्री कार्यालयसँगै पर्यटनसम्बद्ध निकायमा बुझाइने जनाएका छन् । रासस

You might also like

Comments are closed.