रामपुरका कृषकलाई अनुदानमा मकैको वीउँ वितरण

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले कृषकलाई उन्नत जातको मकैको वीउँ वितरण गरेको छ ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विभिन्न जातका वीउँ कृषकलाई वितरण गरेको हो । यो क्षेत्रको हावापानीमा उत्पादन हुने र कृषकको माग अनुसारका विभिन्न ३ जातका मकैको विउ वितरण गरेको छ ।

यसवर्ष धेरै समय खडेरी लागेको र पानी कम परेका कारण मकै उत्पादनमा ह्रास आएकाले वीउँको अभावका कारण कृषकको राहतका लागि मकैको वीउँ वितरण गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताए ।

खडेरीका कारण मकै उत्पादनमा कमी आएको र वीउँको सहजताका लागि कृषकलाई अनुदानमा मकैको वीउँ वितरण गरिएको नगर प्रमुख थापा बताउँछन् । कृषि क्षेत्रको विकास र कृषि उत्पादनलाई वृद्धि गर्नका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख उनले जनाए ।

नगर प्रमुख थापाले विक्रि गर्ने गरी उत्पादन गर्न नसकेपनि आत्मनिरर्भर हुने गरी कृषिजन्य वस्तुको उत्पादन गर्न आग्रह गर्दै नगरका हरेक बाँझो जमिनलाई उत्पादनमूलक जमिन बनाउन आवश्यक रहेको बताएका छन् ।

कृषकलाई राहत र प्रोत्साहनका लागि नगरपालिकाले अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नगर प्रवक्ता कपिलबहादुर खाँणले बताए । उनले मकैको उत्पादनमा वृद्धिका लागि नगरपालिकाले उन्नत जातको वीउँ वितरण गरेको बताए ।

अहिले नगरपालिकाभित्रका कृषक र कृषि सहकारी गरी ७१२ जनालाई ८ हजार ८२९ किलो मकैको वीउँ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । मनकामना ३, अरुण २ र रामपुर कम्पोजिट गरी ३ जातका मकैको वीउँ वितरण गरिएको उनले बताए ।

रामपुर नगरपालिकाले खाद्यान्न वीउँ ५० प्रतिशत अनुदानमा वितरण कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ बराबरको वीउँ वितरण गरेको छ । यसभन्दा अघि नगरपालिकाले काउली, बन्दा र प्याजको वेर्ना, विभिन्न तरकारीको वीउँविजन पनि ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।

 

lcci
You might also like

Comments are closed.