मन्त्री ज्वालाकुमारी शाहको पहिलो प्राथमिकतामा दुग्ध किसानको भुक्तानी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहको विशेष पहलमा अर्थमन्त्रालयसँगको निरन्तर छलफल र संवादपछि तत्काललाई दुग्ध विकास संस्थानलाई ३० करोड रकम निकासा हुने पक्का भएको छ ।

मन्त्री शाहको निरन्तर ताकेतापछि दुग्ध किसानको भुक्तानीको प्रक्रिया अघि बढाउन अर्थमन्त्री वर्षमान पुनले २ गते शुक्रबार मन्त्रालयका सचिव र उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

डिडीसीले किसानको भुक्तानी गर्न निकै अगाडिदेखि अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो । रकम अभावको कारण देखाउँदै अर्थ मन्त्रालयले भुक्तानी दिएको थिएन ।

jutta mela

आफूले बिक्री गरेको दूधको भुक्तानी लामो समयदेखि नपाएको कारण किसान आन्दोलित थिए । केहि समय अगाडि सरोकारवाला सबैलाई राखी तत्कालीन मन्त्री बेदुराम भुसालले किसानको भुक्तानी छिट्टै गर्न सम्झौता गराएका थिए । अहिलेको यो निर्णयले डिडीसीलाई केही राहत हुने र किसानको भुक्तानी हुने कुरा डिडिसीका महाप्रबन्धक सञ्जिब झाले बताए । सरकारको निर्णय अनुसार डिडिसीलाई राहत भए पनि निजी डेरी उद्योग अझै समस्यामा रहिरहने र निजीको लागि पनि केही न केही राहतको प्याकेज बनाउन नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले सरकारलाई आग्रह गरिएको जानकारी दिए ।

यसरी प्राप्त रकमले किसानलाई थोरै भए पनि राहत पुग्ने केन्द्रीय दुग्ध सहकारी संघका महासचिव राम आचार्यले बताए । सरकारले गरेको सकारात्मक कदमको सरोकारवाला सबैले खुलेर प्रशंसा गरेको केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाको भनाइ छ ।

You might also like

Comments are closed.