२२ हजार हेक्टर जमिनमा सिक्टाको सिँचाइ सुविधा

राँझा (बाँके) । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइबाट बाँके जिल्लाको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२/६३ मा सरकारको स्रोतबाट निर्माण सुरु भएको आयोजनाले हालसम्म लक्ष्यको आधा प्रगति हासिल गरेको आयोजना कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, सिधनिया शाखामा एक हजार हेक्टर र पूर्वी मूल नहरतर्फ चार हजार हेक्टर गरी २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले जानकारी दिए ।

jutta mela

“आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँकेको राप्ती नदी पश्चिम भेगको ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ”, सूचना अधिकारी पौडेलले भने, “आयोजना सुरु भएदेखि हालसम्म समष्टिगत भौतिक प्रगति ४० दशमलव २२ प्रतिशत र वित्तिय प्रगति ३९ दशमलव ३८ प्रतिशत रहेको छ ।”

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयोजनाले पुँजीगततर्फ विनियोजित बजेटको ४० दशमलव १० प्रतिशत वित्तिय प्रगति गरेको छ । विनियोजित रू ७५ करोड ४८ लाखमध्ये फागुन मसान्तसम्म रू ३० करोड २६ लाख ३२ हजार खर्च भएको इञ्जिनियर पौडेलले बताए ।

“चालु आवमा आयोजनाको पूर्वी मूलनहरको बाँकी काम गर्न ठेक्का व्यवस्थापनका लागि पूर्वतयारी हुँदैछ”, उनले भने, “पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरुवा र गोहवा शाखाको ठेक्का सम्झौता भई निर्माण सुरु गर्ने, गुरुवागाउँ शाखाअन्तर्गत नहर निर्माण, जग्गा अधिग्रहणसम्बन्धी काम र अन्य शाखाको ठेक्का व्यवस्थापनलगायत पूर्वतयारीको काम सुरु हुनेछ ।”

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी जिल्लाको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन आयोजना निर्माण गरिएको आयोजनाका निर्देशक देवराज निरौलाले बताए ।

आव २०६२/६३ मा सुरु भएको आयोजना संशोधित गुरुयोजनाअनुसार आव २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । उनका अनुसार संशोधित गुरुयोजनाअनुसार आयोजनाको लागत रू ५२ अर्ब ८९ करोड रहेको छ । रासस

You might also like

Comments are closed.