५४ लाख बालबालिकाले दादुरा–रुबेलाविरुद्ध खोप लगाए

काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार ४६९ बालबालिकाले खोप लगाइसकेका छन् ।

बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप अभियानमा करिब ९३ प्रतिशतले खोप लगाएको जानकारी दिए । गत फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पश्चिमरुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको छ । ती जिल्लाका कूल ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

उनले यही चैत ७ गतेसम्म सबै लक्ष्य हासिल गर्ने समेत बताए । “हामीले सोचेजस्तो नै सबै बालबालिकाले खोप लगाएका छन्”, उनले भने, “हामीले निर्धारण गरेको लक्ष्यअनुसार सबै बालबालिकाले खोप लगाउँछन् ।”

दादुरा–रुबेलाको अति सङ्क्रमित भारतसँग सीमा जोडिएका २१ तथा काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदैछ ।

खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोपकेन्द्रमा लगाइएको छ । खोप अभियानका लागि देशभरि ४८ हजार ७९८ खोपकेन्द्र रहेका छन् । यस्तै ४९ हजार ९३७ स्वास्थ्यकर्मी र ५९ हजार ९०६ स्वयंसेवक परिचालन गरिएको छ । रासस

You might also like
Ram Tulasi Palpa

Comments are closed.