तीन भाले गैँडा स्थानान्तरण

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । पश्चिममा गैँडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुई वटा गैँडालाई पूर्व ल्याइएको छ । अन्दाजी ८ र १७ वर्षका गैँडालाई नियन्त्रणमा लिएर पूर्वी चितवनको खैरहनी नगरपालिका अन्तर्गत कुचकुचे मध्यवर्ती सामुदायिक वन नजिक निकुञ्जको भित्री भागमा छाडिएको छ ।

यस्तै कावासोती क्षेत्रबाट एक गैँडा नियन्त्रणमा लिएर पूर्व ल्याइएको छ । अन्दाजी २८ वर्ष हाराहारीको सो भाले गैँडालाई कसरादेखि पूर्वी क्षेत्रमा छोडिएको हो । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो ।

निकुञ्जका हात्ती, हात्ती सारे, प्राबिधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जना जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका छन् ।

निकुञ्जले अहिले ६ वटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदन अनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । स्थानान्तरण गर्दा ८ वर्षदेखिमाथिका गैँडालाई गरिने छ ।

पछिल्लो गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैँडा छन् ।

एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम समेत बढ्दो गर्दछ । पूर्वी क्षेत्रमा घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा स्थानान्तरण थालिएको हो । केही वर्षअघि आएको बाढीले पूर्वका गैँडा बगाएर भारतसम्म पु¥याएको थियो । बगेका कतिपय गैँडा निकुञ्जकै पश्चिमी क्षेत्रमा समेत पुगेका थिए । रासस

You might also like

Comments are closed.