अर्घाखाँचीमा बाली जोगाउन भोटे कुकुर वितरण

अर्घाखाँची । पाणिनी गाउँपालिका पोखराथोकमा वन्यजन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ ।

पाणिनी गाउँपालिका वडा नं २ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका ९ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए । बाँदर, बँदेल, दुम्सी लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी किसानका मागका आधारमा भोटे कुकुर वितरण गरिएको जनाइएको छ ।

बाँदरका कारण बाली जोगाउन मुस्किल भएका तथा वन्यजन्तुबाट हैरानी खपेका किसान पनि भोटे कुकुर पाएपछि खुशी भएका छन् । वन्यजन्तुबाट खेतीपाती तथा फलफुल जोगाउन मुस्किल छ । बाँदर तथा वन्ययजन्तुबाट पाइरहेको हैरानी भोगेका हामीलाई भोटे कुकुर पाएपछि खुसी लागेको पोखराथोकका किसान भाष्करराज पौडेल बताउँछन् ।

किसानहरुको २५ प्रतिशत र वडा कार्यालयको ७५ प्रतिशत लागतमा ती कुकुर वितरण गरिएको हो । वडाध्यक्षसहित गाउँपालिकाको कृषि तथा पशु शाखाका प्राविधिक समेतले धादिङ भोटे कुकुर क्लव अफ नेपाल, पोखरा महानगरपालिकाको वडा नं २१ र माछापुच्छ्रे गाउँपालिकाबाट खरिद गरी ल्याइएका ती भोटे कुकुर आज किसानलाई एक कार्यक्रममार्फत वितरण गरिएको हो ।

सबै कुकुरको स्वास्थ्य प्रतिवेदन, डीएनए परीक्षण भइसकेको वडा अध्यक्ष पौडेलले जानकारी दिए । ४० देखि ६० दिनसम्मका कुकुरहरुको खरिद मूल्य प्रतिकुकुर रु ३५ हजार छ ।

बाँदर र बँदेल जस्ता वन्यजन्तुले सताउन थालेपछि अर्घाखाँचीसहित पहाडी जिल्लाका मानिसहरुको बढ्दो बसाइसराइ रोक्न यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकृत रोमाकान्त न्यौपानेले बताए । रासस

lcci
You might also like

Comments are closed.