चितवनमा भारतीय केरा, स्थानीय उत्पादनले बजार नपाउँदा किसान चिन्तित

चितवन । चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् ।

हाल जिल्लामा जी ९ केरा बजारमा ल्याउने तयारी भएको छ भने माल्बोगको पनि तयारी अवस्थामा छ । भरतपुर महानगरपालिका वडा नम्बर २३ मा २५ विगाहा क्षेत्रफलमा केराखेती गर्दै आएका घननाथ महतोले उत्पादनले बजार नपाउँदा थन्काएर राख्नु परेको गुनासो गरे ।

केरा बिक्रीका लागि तयार भएको १२ दिन भयो बेच्न नसकेको बताउँछन् । चितवन केरा उत्पादक सङ्घका निवर्तमान अध्यक्ष समेत रहेका महतो स्थानीय केराले बजार पाउन नसक्दा निकै चिन्तित छन् । भारतबाट आयातित केरा र यहाँ उत्पादित केराको मूल्यमा असमानता भएपछि बजार पाउन नसकेको उनको भनाइ छ ।

jutta mela

अमित कृषि फर्मका सञ्चालक यज्ञ सुवेदी पनि स्थानीय केरा बजार ल्याउने तयारीमा छन् । तर चितवनमा यही उत्पादित केराले बजार पाउन नसकेको फर्मका सुवेदीले गुनासो गर्छन् । “चितवनको बजार ९० प्रतिशत भारतीय केराले ओगटेको छ । स्थानीय केराले यहाँ बजार नपाएपछि पोखरा, बुटवल लगायतका बजारमा केरा पठाउने सुरु गरिएको छ” उनले भने ।

उनले स्थानीय केराको बजारीकरणमा समस्या देखिएको बताए । “भारतीय केरा रोक्न व्यवसायीहरुसँग छलफल भएपनि कार्यान्वयन हुन सकेन”, उनले भने । उनले ५५ विगाहा क्षेत्रफलमा केराखेती गर्दै आएका छन् ।

भारतबाट केरा आयात गरेर पकाउने र बजारमा ल्याउन गर्दा यहाँ उत्पादित केराले बजार पाउन नसकेको उहाँको भनाइ छ । चितवनका केरा व्यवसायीहरुसँग पटक–पटक छलफल भएपनि त्यहाँ भएका सहमतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समस्या भएको उनको गुनासो छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई भरतपुरका सूचना अधिकारी इन्द्र ढुङ्गानाले जिल्लामा अहिले १५० टन केरा बिक्रीका लागि तयारी भइरहेको बताउँछन् । यी केराले जिल्लामा बजार नपाउँदा बजार व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ ।

“केरा उत्पादन भएर बजारमा आउने समय भयो । भारतीय केराले गर्दा यहाँका केराको बजार बिस्थापित भयो” उनले भने । जिल्लामा २२ सय ५ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । केरा उत्पादनमा जिल्लाका ८ सय किसान आबद्ध छन् । जिल्लामा उत्पादित केराको बजार व्यवस्थापनका लागि पहल भइरहेको छ ।

प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना केरा जोनका संयोजक बिष्णुहरी पन्तले विगतका वर्षपनि यस्तो समस्या रहेको र बजारीकरणका लागि सरोकारवालासँग छलफल गरिएको बताए ।

जिल्लामा उत्पादित केरालाई ग्रेडिङ् गरेर बजारमा ल्याउने तयारी भइरहेको पन्तले बताए । ग्रेडिङ् गरेर बजारमा केरा ल्याउन लागिएको र यससँगै केरा पकाउने चेम्बर किसानलाई उपलब्ध गराइएको उनको भनाई छ । यसवर्ष सातवटा चेम्बर उपलव्ध गराइ केरा पकाउन सहयोग गरिने उनले उल्लेख गरे । रासस

 

You might also like

Comments are closed.