“आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३” सेफ घिसिङलाई

काठमाडौं । अन्तर्राष्ट्रिय नेपलीज सेफस सोसाइटी यूकेले यस वर्षको रैथाने खानाको खोजी, अध्ययन र नेपाली खानाको प्रवद्र्धन गर्न हौसलास्वरुप स्थपना गरेको “आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३” युवा सेफ प्रेमलाल घिसिङलाई प्रदान गरेको छ ।

कूल ५० हजार रुपैयाँ राशिको सो पुरस्कार रैथाने खाना, लोक परिकार अनुसन्धान सङ्कलनसहित १०१ दिनको खोजी यात्राका अभियान र खोजीकर्ता सेफ घिसिङलाई सो संस्थाका मेण्टर सूर्यकिरण श्रेष्ठले प्रदान गरेका हुन् । लामो समयदेखि क्यान्सर रोगबाट पीडित सेफ घिसिङ मेडिकेयर अस्पतालमा उपचाररत छन् ।

संस्थाका अध्यक्ष अर्जुनबहादुर थापाले सेफ घिसिङको उपचारको लागि विभिन्न सेफहरुबाट सङ्कलित २ लाख रुपैयाँ यसअघि प्रदान गरिएको जानकारी दिँदै थप उपचारको लागि सक्दो सहयोग गर्न सबैलाई अपिल समेत गरेका छन् ।

एक विशुद्ध पेशागत संस्थाका रुपमा बेलायतको कम्पनी हाउसमा सन् २०२० मा अन्तर्राष्ट्रिय नेपलीज सेफ सोसाइटी युके गठन भएको थियो ।

यसले आफ्नो स्थापनाकालदेखिनै नेपालभित्र र बाहिर रहेका नेपाली सेफहरूको व्यावसायिक क्षमता एवम् स्तर उँचो पार्दै नेपाली खानाको प्रवद्र्धन गर्ने कार्यमा सदैव क्रियाशील रहेको छ ।

संस्थाको स्थापनासँगै यसको गतिविधि र क्रियाकलापलाई निरन्तरता दिन तनहुँ बन्दिपुर गाउँपालिका बेलभञ्ज्याङका अर्जुनबहादुर थापा (हाल स्वीजरल्याण्ड) यस संस्थाका अध्यक्ष र नेपालको हस्पिटालिटी शैक्षिक क्षेत्रमा प्रतिष्ठित सूर्यकिरण श्रेष्ठ मेण्टर रहेका छन् ।

You might also like

Comments are closed.