घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१५ की सीता खनाल ४४ वर्षकी भइन् । कक्षा ५ पढ्दा पढ्दै उनको बिहे भएपछि पढ्ने रहर अधुरो थियो । त्यही अधुरो रहर पुरा गर्न उनी अहिले घोराही–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनामा कक्षा ७ मा अध्ययन गरिरहेकीछिन् ।
“मलाई पढ्न लेख्न आउँदैनथ्यो । अहिले छोराछोरी सरहका साथी र शिक्षकसँग पढिरहेको छु”, उनले भनिन्, “शिक्षक, साथी र परिवारको सहयोगले अगाडी बढ्न सजिलो भएको छ ।” स्कुल गएको सुरुआती दिनमा सीतालाई डर र लाज लागेको थियो । अहिले सजिलो भएको उनले अनुभव सुनाइन् ।
सीताले जागीर खानका लागि पढेको हैन । शिक्षा प्राप्त गर्दै पढ्ने रहर पुरा गरी जीवन सहज बनाउन पढ्न थालेको उनले बताइन् । उनी दुईवर्ष अघि कक्षा ६ मा भर्ना भएकी हुन् । कक्षा ६ मा मेहनत गरेर राम्रो अङ्कसहित उत्तीर्ण भएपछि थप उत्साहित भएको उनले बताइन् ।
“विवाहपछि पढ्ने कोसिस गरेँ तर घरायसी कामकाजले पढ्न पाइनँ । लामो समयपछि पढ्ने रहर जाग्यो । अहिले निरन्तरता दिँदैछु”, उनले भनिन्, “मेरा दुई छोरा र श्रीमान्बाट साथ सहयोग पाएकोले पढ्न सजिलो भएको छ ।”
पहिले छोरी, बुहारीले पढ्न हुँदैन भन्ने मान्यता थियो । अहिले कतिपयले बुढेसकालमा पढेको देख्दा कुरा काट्ने गर्छन् । घरको कामकाजसँगै विद्यालय नियमित जान पाएकोमा उनी खुसी छन् । पढ्ने इच्छाशक्तिलाई उमेरले छेक्दैन भन्ने खनालको भनाइ छ ।
सहपाठीले ‘आन्टी’ भनेर सम्बोधन गर्दा खुसी लाग्ने उनले बताइन् । ढिलै भएपनि औपचारिक शिक्षा हासिल गर्न पाउँदा नयाँ अनुभव भएको उनको भनाई छ ।
सीतामा पढाएको कुरा बुझ्ने, सिक्ने क्षमता भएको शिक्षका सुनिता शर्मा बताउँछिन् । सीता खनालले देखाएको अनुशासन र लगनशीलताका कारण कक्षाकोठा प्रभावकारी हुने गरेको उनको भनाइ छ । पढाइलाई निरन्तरता दिइ कक्षा १२ उत्तीर्ण गर्ने योजना रहेको उनले बताइन् । रासस
Comments are closed.