अनधिकृत रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वाग्मती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्ध तथा अतिरिक्त जिम्मेवारीका रुपमा कागेश्वरी, गोकर्णेश्वर तथा शङ्करापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत कार्कीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार, कार्की विसं २०५८ साउन १६ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । आयोगले विसं २०७९ चैत ३० गतेसम्मको सम्पत्तिका बारेमा अनुसन्धान गरेको छ । सो अवधिमा कार्कीको कूल आम्दानी रू ३ करोड ७७ लाख १३ हजार ६४६ बराबर छ । यस्तै सो अवधिमा शाखा अधिकृत कार्कीले रू ६ करोड ९८ लाख ४६ हजार ६०३ बराबर खर्च गरेको पाइएको छ ।

आम्दानीभन्दा खर्चको मात्रा बढी भएको र त्यसको स्रोत खुलाउन नसकेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार आयोगले रू ३ करोड २१ लाख ३२ हजार ९५६ बराबरको रकमको स्रोत खुलाउन नसकेको ठहर गरेको छ ।

आयोगले शाखा अधिकृत कार्कीको श्रीमती देवका अधिकारीको नाममा राखेको सम्पत्ति समेत जफत गर्ने माग दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता घिमिरेले जानकारी दिए । रासस

You might also like
Ram Tulasi Palpa

Comments are closed.