महिला चिकित्सकसँग खुल्न थाले बझाङमा आङ खस्ने समस्याबाट पीडित महिला

चैनपुर (बझाङ) । ५२ वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठानेकी थिइन् । यद्यपि उनलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उनी दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट पीडित थिइन् ।

रोग र गरिबीसँग लड्दै आएकी दूधकलाको परिवारमा दैनिक जीवनयापनका निम्ति अन्नको जोहो नै चुनौतीको पहाड थियो भने उपचार कोरा कल्पनामात्र । सुरुमा रोगको बेवास्ता गरेकी उनले स्वास्थ्यमा जटिल समस्या भएपछि स्त्रीरोग विशषेज्ञ डा कविता साहसँग सम्पर्क गरिन् । आङ खस्ने समस्याले पीडित उनले यसअघि पुरुष चिकित्सकलाई आफ्नो समस्या सुनाउन नसकेर ज्यान नै जोखिममा पारिन् ।

रोगको निदानका निम्ति पटक–पटक जिल्ला अस्पताल पुग्ने तर पुरुष चिकित्सकलाई सोध्न नसकेर फर्कदा रोगले च्याप्दै गएको थियो । “धेरै पटक अस्पताल आएँ तर, आफ्नो समस्या डाक्टरलाई सुनाउन नसकेर फिर्ता भए”, उनले भनिन्, “पुरूषै पुरूष भएपछि निकै अप्ठेरो लाग्ने रहेछ । महिला डाक्टरसँग पनि बल्ल समस्या राख्न सकेँ ।”

jutta mela

जयपृथ्वी नगरपालिका–९ की दूधकलाको पाठेघर र मूत्रथैलीमा समस्या थियो । गत साता डा साहको टिमले शल्यक्रिया गरेर रोग निर्मूल पारेपछि भने सार्कीले पुनर्जीवन पाएको बताउँछिन् । “दश वर्षदेखिको समस्याले अब बाँचुञ्जेल छोड्दैन कि भन्ने लागेको थियो । खुसीको कुरा, भगवान् नै फेला परेजस्तो भयो” उनले भनिन् ।

लामो समयदेखि हिँड्न, बस्न र पिसाब गर्दा हुने समस्या अहिले समाधान भएको उनले बताइन् । “मेरो समस्या सुनेर घरपरिवारमात्रै होइन, आफन्तसमेत हैरान भएका थिए । अहिले भने बिराम काटिएको भन्दै सबैको मुहारमा उज्यालो छाएको छ”

दूधकलाको जस्तै रोग लुकाएर बसेकी केदारस्यूँकी सुनिता विकको पनि गत महिना शल्यक्रिया गरिएको थियो । तल्लो पेट दुख्ने, महिनाबारी गडबडी हुने, महिनाबारी हुँदा रगत धेरै बग्ने लगायत समस्याबाट ग्रसित उनको शल्यक्रिया गरेपछि उनले पनि समस्याबाट मुक्ति पाएको बताइन् ।

जिल्लामा अधिकांश महिलाले आफ्नो रोग लुकाएर बसेको डा साहको बुझाइ छ । “महिलाले आफ्नो समस्या नखोलेरै कतिपयको ज्यान पनि गइसकेको पनि हुन सक्छ । सदरमुकाममा बस्ने महिला नै आफ्नो समस्या लुकाएका देखिए भने गाउँघरमा कति होलान्” उनले भनिन् ।

डा साहका अनुसार अस्पतालमा आउने महिलाले महिलासँगै मात्रै आफ्नो समस्या सुनाउने रहेछन् । “म आएको दुई महिना हुन लाग्यो । दिदीबहिनीहरू मसँग समेत आफ्नो समस्या सुनाउन अप्ठेरो मान्नुहुन्छ । पुरुषको त झनै नजरमै पर्न चाहनुहुन्न ।” यसरी नै धेरै महिलाले रोग पालेको हुन सक्ने उनको अनुमान छ ।

दुई महिनाको बीचमा डा साह आएदेखि दुईजना महिलाको सफल शल्यक्रिया भइसकेको छ । “म आएदेखि दुई जनाको शल्यक्रिया सफल भयो । एक जनाको अर्को साता गर्ने तयारी छ”, उनले भनिन् ।

डा साह गाउँघरमा चेतनाको अभावमा महिलाले रोग पालेका बताउँछिन् । “जिल्ला अस्पतालमा आउने ८० प्रतिशत महिलाले आफ्नो समस्या कसैलाई नसुनाएका देखियो । आफ्नो समस्या कसैलाई सुनाउँदा बेइज्जत हुने डरले कसैलाई नभन्ने रहेछन् । आजभोलि भने महिला स्वास्थ्यकर्मीसँग खुल्ने भएका छन् ।”

डा साह बझाङ आएपछि भने बिरामीहरूले केही आशा पलाएको छ । आफ्नो समस्या सुन्ने र समाधान गरिदिने भन्दै बिरामी महिलाहरू तथा उनीहरुका आफन्तहरूले प्रशंसा गर्ने गरेको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा धिरज विशङ्खले बताए ।

महिलाको शल्यक्रिया निकै जटिल प्रकृतिको भएपनि अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीको टोलीले सफल पारेको उनले बताए । उनका अनुसार जिल्लामा नै पाठेघर र मूत्रथैलीको शल्यक्रिया पहिलो पटक भएको हो । जुनसुकै शल्यक्रियाका लागि अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था रहेको जिल्ला अस्पतालमा अब शल्यक्रिया सेवा प्राप्त हुन बझाङबासीकै लागि खुसीको कुरा भएको उनले बताए ।

डा विशङ्खका अनुसार जिल्लामा यसअगाडि महिला विशेषज्ञ डाक्टर आएपनि पाठेघरसम्बन्धी शल्यक्रिया हुन सकेको थिएन । डा साह आइसकेपछि भने दुईवटाको शल्यक्रिया भइसकेको उनले बताए । रासस

You might also like

Comments are closed.