एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार

दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ । गत फागुन २१ देखि चैत ८ गतेसम्म सबै वडामा सञ्चालित शिविरबाट २३ हजार ३३६ पशुको उपचार भएको हो ।

उक्त शिविरबाट सातवटा वडाका १९ सय २६ जना पशुपालक किसान लाभान्वित भएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए ।

“गाउँपालिबाट प्रदान गरिने सबै सेवा वडा र टोलस्तरबाट प्रदान गर्ने सिलसिलामा पशु सेवा शिविर सञ्चालन गरेका थियाँै, शिविरमा गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुरलगायत पशुको उपचार गरेका छौँ । टोलमै सेवा पाउँदा किसानलाई पनि सजिलो भयो” उनले भने ।

पशु चिकित्सक डा शाहका अनुसार उक्त पालिकाको वडा नं १ स्थित बाख्रेमा १३ सय ५५, टाक्राङमा२ २ सय ४९, वडा नं २ स्थित गुञ्जारामा ८०३, जामुनेमा २२ सय ३६, वडा नं ३ स्थित किल्चोक र बेल्टारमा एक हजार चार, जनगणपति माविमा ११ सय ६९, वडा नं ४ स्थित कोल्डाँडामा १८ सय ४६, छिम्लेश्वारामा दुई हजार ५६, वडा नं ५ स्थित छाङपाटनमा २४ सय ४९, साउनेपानीमा दुई हजार १२ पशुको उपचार गरिएको हो ।

यसैगरी वडा नं ६ स्थित सर्वलाङमा १९ सय २३, वडा नं ७ स्थित माझिलाङमा २३ सय ६०, रानीश्वारामा १८ सय ७४ पशुको उपचार गरिएको छ । अन्य समयमा किसानहरूले पशु नै सम्बन्धित पशु सेवा केन्द्रसम्म ल्याएर उपचार गर्नुपर्ने अवस्था रहेपनि घुम्ती शिविरका बेला पशु प्राविधिक नै टोलमै पुगेर सेवा दिएको डा शाहले बताए ।

“गाउँपालिकाले बेला–बेलामा यसरी नै टोल तहसम्म पुगेर घुम्ती शिविर सञ्चालन गर्दा पशुपालक किसानलाई राहत पुग्ने गरेको छ” उनले भने ।

घुम्ती शिविरबाटै बीमाको प्रचार–प्रसार गरिएको थियो । आकस्मिक रोग तथा क्षति न्यूनीकरण गर्न पशुको बीमा गर्न किसानलाई प्रोत्साहन गरिने डा शाहको भनाइ छ । पशुवस्तुको बीमाका लागि किसानले बुझाउने रकम गाउँपालिकाको पशु सेवा शाखाबाट पुनः किसानलाई प्रदान गरिने कार्यक्रम चालु आर्थिक वर्षमा पनि जारी रहेको उनले बताए ।

“पशु बीमा गरेपछि पशुको क्षति भएमा किसानलाई क्षतिपूर्ति मिल्नेछ, बीमा निःशुल्क भएकाले यसको प्रचारप्रसारमा जोड दिएका छाँै” उनले भने ।

पशु सेवा शाखाले घाँसमा आधारित पशुपालनलाई पनि जोड दिएको छ । पशुपालनको ७० प्रतिशत लागत आहारामा खर्च हुने हुँदा मौसमअनुसारको जै, सुपर नेपियर, मकेचरी वर्षिमलगायत घाँसखेती गरी घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घटाउँदै आम्दानी बढाउन कृषकलाई अनुरोध गरिएको डा शाहले जानकारी दिए ।

डा शाहका अनुसार घुम्ती शिविरमा आकस्मिक तथा महामारीजन्य रोग रोकथाम तथा न्यूनीकरणका लागि खोरेत, भ्यागुते, चरचरे, पिपिआर, स्वाइन फिबर र कुकुर बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको थियो । रेबिज नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८०÷८१ भरि नै कुकुर बिरालोमा रेबिजविरुद्धको खोप निःशुल्क पशु सेवा शाखाबाट प्रदान हुँदै आएको छ । रासस

You might also like

Comments are closed.