नेपालगञ्ज । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्जस्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ ।
१ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परिक्षणकालिन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो बैशाखमा भव्य उद्घाटन गर्ने तयारी गरेको सञ्चालक बि.बि. (बिष्णु) ढकालले बताए ।
खासै प्रयोगमा नआएको नेपालगञ्जको वाटरपार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिव दुई महिना समय लागेको ढकालले जानकारी दिए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेर प्रयोग गरेको छ ।
कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेवापत नेपालगञ्ज महानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए ।
कति लाग्छ शुल्क ?
पर्यटकले मोटरबोट चड्न २५० रुपैयाँ तिर्नुपर्छ । १२ सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्नेछन् ।
के छ आगामी योजना ?
नेपालगञ्जको सोही पार्कमा जेट स्कि, ५ वटा पावरस्पोर्ट्स, फ्लोटीङ रेष्टुरेण्ट, अपोजिट बन्जि, साइक्लिङ, जिपलाइन लगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए ।
यसअघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए ।
Comments are closed.