रामपुरको कालीगण्डकी नदीको बडभानघाटमा शवदाहस्थल निर्माण हुदै

सुशीला रेग्मी

रामपुर (पाल्पा) । पाल्पा रामपुरको बडभानघाटमा शवदाहस्थल निर्माण कार्य भइरहेको छ ।

रामपुर नगरपालिका वडा नं ४ स्थित कालीगण्डकी नदीको वडभानघाटमा शवदाहस्थल निर्माण कार्य भइरहेको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयको दुई लाख वजेट सहयोगमा शवदाहस्थल निर्माण सुरु गरेको रामपुर ४ का वडाध्यक्ष रामबहादुर रानाले जानकारी दिए ।

“वर्षायामका बेला नदीमा पानीको बहाव बढ्ने हुदा शव जलाउन निकै समस्या हुन्थ्यो” वडाध्यक्ष रानाले भने,–“नदीमा पानीको सतह बढ्ने र आकाशबाट लगातार पानी पर्ने समस्याले वर्षायाममा शव जलाउन कठिनाई झेल्नुपर्ने अवस्था छ, सो समस्यालाई सहज बनाउन घाटमा शवदाहस्थल निर्माण कार्यमा वडाले सहयोग गरेको छ” ।

jutta mela

शवदाहस्थल निर्माणका लागि संगम समाज टोल विकास संस्थालाई जिम्मेवारी दिइएको वडाध्यक्ष रानाले बताए । उनका अनुसार निर्माण कार्य सम्पन्न गर्न करिव पाँच लाख रकम लाग्ने अनुमान गरिएको छ ।

“शव जलाउँदा जलाउँदै कहिलेकाँही वर्षाका बेला पानी नदीमा ह्वात्तै बढेर आउँदा जलेर नसकिदै शव नै पानीले बगाएर लैजाने हो कि भन्ने समस्या निक्कै पिरोल्थ्यो, अब व्यवस्थित शवदाहस्थल निर्माण भएपछि नदीमा पानी बढेर आएका बेला शव जलाउने समस्या सधैँका लागि हट्नेछ” वडाध्यक्ष रानाले भने ।

दुईवटा शवदाहस्थलमध्ये एकवटा छानो भएको र एकवटा छानो नभएको हुनेछ । एकै पटक दुईवटा शव जलाउनुुपर्ने अवस्था आउन सक्ने हुदा एउटै घाटमा दुईवटा शवदाहस्थल भएपछि दाहसंस्कार गर्न सहज हुने रामपुर ४ का वडा सचिव सविता आलेले बताइन् ।

शवदाहस्थल निर्माणमा वडामा रहेका १२ वटै टोल विकास संस्थाले जनश्रमदान तथा आर्थिक सहयोग गरेका छन् । संगम समाज टोल विकास संस्थाले संरक्षण तथा रेखदेख गर्ने गरी वडाले शवदाहस्थल निर्माणमा जिम्मेवारी दिएको हो ।

संगम समाज टोल विकास संस्थाका अध्यक्ष हरष रानाले हिन्दु धार्मिक शास्त्र अनुसार मानिसले मृत्युवरण गरेपछि सामाजिक परम्परा अनुसार नदीका घाटमा लगेर सामाजिक परम्परा अनुसार दाह संस्कार गर्ने चलन रहेकाले शवदाहस्थल निर्माण भएपछि दाह संस्कार गर्न धेरै सजिलो पर्ने बताउँछन् ।

सामाजिक हितका गरिएको यस कार्यमा जनप्रतिनिधि, टोल विकास संस्था, स्थानीयवासी लगायतको साथ सहयोग रहेको संगम समाज टोल विकास संस्थाका सचिव विष्णु सेनले बताए । करिव एक महिनाअघि देखि निर्माण कार्य सुरु भएको यस शवदाहस्थल यही चैत महिनाभित्र निर्माण सक्ने गरी कामलाई धामधम अगाडी बढाइएको छ ।

हिन्दु धर्म संस्कार अनुसार मानिस मृत्यु भए पश्चात् उसको पार्थिक शरीरलाई नदीका घाटमा जलाउने परम्परा छ । वर्षाका बेला नदी तथा खोलाका घाटमा शव जलाउन कठिनाई छ । शवदास्थल नभएका ठाउँमा पानी बढेर आउँदा घाट नै नपाइने, कतिपय अवस्थामा पानी परिरहदा शव जलाउने कार्यमा धेरै समस्या भइरहेको पाइन्छ ।

रामपुर नगरपालिकामा पहिलो पटक स्थानीय सरकारको सहयोगमा कालीगण्डकी नदीको बडभानघाटमा शवदाहस्थल निर्माण हुदै गरेको छ । स्थानीयले शव जलाउन वर्षायाममा पानीका कारण निकै दुखकष्ट भोग्दै आएका थिए । छिटो सम्पन्न गर्न वडाले नियमित अनुगमन कार्य गरिरहेको छ ।

रामपुर नगरपालिका वडा नं ४ को कार्यालयले गरेको यस कार्यको अन्य वडा तथा स्थानीय निकायले पनि अवलम्वन गरेर नदी तथा खोलाका किनारमा शवदाहस्थल निर्माण गरिदिए शव जलाउन सहज पर्ने थियो । यस वडाले सामाजिक कार्यमा रचनात्मक खालका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.