बजेट अभावमा नगर अस्पतालको काम रोकियो

दमौली (तनहुँ) । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ ।

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन भवन निर्माण थालिए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताए ।

११ करोड ५२ लाख ९ हजार ९६३ रुपैयाँको लागतमा भवन निर्माण थालिएको थियो । हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत मात्र भएको छ ।

jutta mela

नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई रु २ करोड ९४ लाख ९३ हजार १५९ भुक्तानी गरिएको छ । भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सनबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो ।

सम्झौताअनुसार २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने भएपनि सो अवधिमा काम पूरा नभएकाले पुनः २०८१ साल असोज २४ गतेसम्मका लागि म्याद थप गरिएको निर्माण कम्पनीका सञ्चालक किरण लामाले बताए । बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या भएकाले त्यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्नेमा उनले जोड दिए । रासस

You might also like

Comments are closed.