चिस्यान केन्द्र बनेपछि आलु भण्डारणमा सहज

दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिकामा निर्माण सम्पन्न भएको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको भण्डारण गरी उचित मूल्यमा बिक्रीवितरण गर्ने उद्देश्यसहित गतवर्ष माघमा निर्माण थालिएको चिस्यान केन्द्र सम्पन्न भएर बिहीबारदेखि सञ्चालनमा आएको हो ।

म्याग्दे गाउँपालिका–३ बिरुवामा चिस्यान केन्द्र निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार चिस्यान केन्द्र निर्माणका लागि गत वर्षको पुस १ गते पासा कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो ।

रु एक करोड ४७ लाख ४६ सय ४७ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । दुईतले भवन १९५ दशमलव ८५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । चिस्यान केन्द्रमा कृषकले उत्पादन गरेका आलु, फलफूल, तरकारी लगायतका वस्तु राखिनेछ ।

अधिकारीले भने, “कृषिजन्य वस्तु भण्डारणका लागि चिस्यान केन्द्रले सहयोग पुग्नेछ, त्यसका कारण कृषकले उचित मूल्य पाउनेछन्, अधिकारीका अनुसार चिस्यान केन्द्रको क्षमता दुई सय मेट्रिकटन रहेको छ ।”

चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव रुक्मिता घिमिरेले चिस्यान केन्द्रमा भण्डारणका लागि प्रतिकिलो रु १० शुल्क कायम गरिएको छ । गाउँपालिकाभित्रका कृषकलाई भने ५० प्रतिशत अनुदान दिइनेछ । “चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिले भण्डारणका लागि शुल्क निर्धारण गरेको छ, चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका कृषकलाई प्रतिकिलो रु पाँचमात्रै शुल्क लाग्नेछ” उनले भने ।

घिमिरेले कृषकलाई वडाका टोल विकास संस्थामार्फत एकमुष्ठ आलु सङ्कलन गरी चिस्यान केन्द्रमा भण्डारण गर्न सूचीत गरिएको जानकारी दिए । आलु सङ्कलन गर्दा प्रत्येक बोरा ५० किलोको हुनुपर्ने निर्णय गरिएको उनको भनाइ छ ।

घिमिरेका अनुसार बोरामा सङ्कलन गरिएका आलु कम्तीमा खनेको १५ दिनपछिको र बोक्रा बाक्लो भएको हुनुपर्नेछ । त्यस्तै टोलविकास संस्थामार्फत आउँदा किसानले आफूले चिन्ने गरी बोरामा सङ्केत नाम राख्नुपर्नेछ ।

म्याग्देले समृद्ध गाउँपालिका निर्माणका लागि कृषिलाई प्राथमिकतामा राखेको छ । कृषकले कृषिजन्य वस्तु उत्पादन गर्ने तर समयमा बिक्री हुन नसक्दा समस्या हुँदै आएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । “यो समस्या समाधानका लागि चिस्यान केन्द्र अतिआवश्यक थियो, यसले गर्दा कृषकले उचित मूल्य पाउनेछन्”, श्रेष्ठले भने ।

उत्पादित वस्तु समयमा बेच्न नसक्ने हुँदा सड्ने र वस्तु घाटामा बेच्नुपर्दा व्यवसायमा असर पर्ने देखिएकाले गर्दा चिस्यान केन्द्रमार्फत वस्तुको भण्डारण गरिने श्रेष्ठले बताएका छन् । “कृषकलाई उत्पादनमा प्रेरित गर्ने वस्तुको बजारीकरणमा सहयोग गर्ने गरी पालिका अगाडि बढेको छ, चिस्यान केन्द्र सञ्चालनपछि कृषक आफँैले उत्पादित वस्तुको भण्डारण र बिक्री गरी आयआर्जन गर्न सक्नेछन्” उनले भने ।

म्याग्दे गाउँपालिकाका कृषक केही वर्षयता सामूहिक आलुखेतीतर्फ आकर्षित छन् । विगतमा धान, मकै, गहुँजस्ता अन्नबाली लगाइने ठूला फाँटमा कृषकले अहिले सामूहिक रुपमा आलुखेती गरिरहेका छन् ।

यसअघि केही कृषकले निर्वाहमुखीरुपमा मात्र आलुखेती गर्ने गरेकामा गाउँपालिकाले व्यावसायिक आलुखेती गर्न प्रोत्साहन गरेपछि कृषक सामूहिकरुपमा आलुखेतीतर्फ आकर्षित भएका हुन् ।

विगतका वर्षमा व्यक्तिगतरुपले निर्वाहमुखीरुपले मात्र आलुखेती गर्दै आएकामा गाउँपालिकाले आलुखेतीमा अनुदान दिन थालेपछि समूह बनाएर आलुखेती गरिएको कृषक लक्ष्मी भण्डारीले बताए ।

चिस्यान केन्द्रको अभावमा विगतमा आलु कुहिएर जाने समस्या रहेको जनाउँदै उनले अब चिस्यान केन्द्र सञ्चालनमा आएपछि सहज हुने बताएका हुन् । गाउँपालिकाको साँगे, रानीटारी, थर्पु, पयर, धयरे, छाङपाटन, पीपलडिहीलगायतका क्षेत्रमा सामूहिक आलुखेती भइरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । रासस

lcci
You might also like

Comments are closed.