केराखेतीबाट रोजगारी

भद्रपुर (झापा) । झापाको गौरीगञ्ज–५ मा केराखेती गरिरहेको श्री गणपति एग्रिकल्चर फार्म प्रालिले १० जना श्रमिकलाई नियमित रोजगारी दिइरहेको छ । उनीहरुले केरा लगाउने, गोडमेल तथा हेरचाह गर्ने, उत्पादन भएका केरा टिप्ने लगायत काम गरिरहेका छन् ।

केरा उत्पादन सुरु भएसँगै उक्त फार्ममा थप रोजगारी सिर्जना हुने फार्म सञ्चालक कमल थापाले बताए । उनका अनुसार ८० बिघा जमिन भाडामा लिएर केराखेतीमा लगाइएको छ भने हालसम्म रू दुई करोड खर्च भइसकेको छ । सञ्चालक थापाले भने, “९० हजार केराका बिरुवा लगाएका छौँ । एउटा बिरुवाबाट अर्को बिरुवाको दूरी ६ दशमलव ५ फिट हुन्छ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘ब्लक विकास’ कार्यक्रममार्फत जिल्लास्थित कृषि ज्ञान केन्द्रले फार्मलाई प्राविधिक सहयोग गरिरहेको छ । केन्द्रका प्राविधिक अञ्जु आचार्यका अनुसार केन्द्र र फार्मको ५०/५० प्रतिशत लगानीमा प्रविधिक सामग्री सहयोग गर्ने सम्झौता भएअनुसार काम गरिएको बताइन् ।

उनका अनुसार पम्पसेट, पाइप मोटर्स, प्राङ्गारिक मललगायतमा दुवै पक्षको रू ३० लाख नौ हजार सात सय खर्च भएको छ । “फार्मले खानासहित दैनिक रू पाँच सय ज्याला दिन्छ । घर नजिकै रोजगारी पाएका छौँ । रोजगारीका लागि अरु देश जानु परेको छैन । यो हाम्रा लागि खुसीको कुरो हो”, फार्मका कामदार एकबार मियाँले भने ।

फार्मका अध्यक्ष वासु उप्रेतीका अनुसार सरकारले केरा उत्पादन भएसँगै बजारीकरण तथा प्रविधिक सहयोग गरेमा पहिलो वर्ष नै लगानी उठाउन सकिने बताएका छन् । लगानी उठेपछि खेती विस्तार गर्दै लैजाने योजना पनि रहेको उनको भनाइ छ । रासस

 

lcci
You might also like

Comments are closed.