वालिङका सहकारीले नगरपालिकालाई बुझाए ज्ञापनपत्र

वालिङ । स्याङ्जाको वालिङ नरपालिकालाई सहकारीले ज्ञापनपत्र बुझाएका छन् । वालिङ नगरक्षेत्रमा रहेका सहकारीले १० बुँदे मागसहित नगरपालिकालाई सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।

जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेल र जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड स्याङ्जाका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित मागपत्र वालिङ नगर प्रमुख कृष्ण खाँणलाई बुझाइएको हो ।

विविध कार्यक्रमसहित ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाउने ३ दिने कार्यक्रम अन्तर्गत आज दोस्रो दिन वालिङसहित जिल्लाका स्थानीय तहहरुमा विभिन्न मागसहित ज्ञापनपत्र बुझाइएको जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले जानकारी गराएका छन् ।

jutta mela

सहकारी क्षेत्र देशको अर्थतन्त्रको अभिन्न अंग भएको र तीनखम्वे अर्थनीतिमध्ये एक सहकारीलाई स्वीकार गरेको उल्लेख गर्दै वालिङ नगरक्षेत्रमा रहेका सहकारीले नगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् ।

‘स्थानीय तहबाट सञ्चालन गरिने योजना तथा कार्यक्रम सहकारी मार्फत सञ्चालन गर्न प्राथमिकता दिइयोस् र स्थानीय तहबाट हुने अनुगमनमा सहकारीको प्रतिनिधि समावेश गरियोस्’ ज्ञापनपत्रमा भनिएको छ ।

यसैगरी स्थानीय तहबाट दिइने भुक्तानी सहकारीमार्फत दिने व्यवस्था गरियोस्, सहकारीका सञ्चालक, कर्मचारी र शेयर सदस्यका लागि सहकारी ऐन कानुन र सहकारी शिक्षाका कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गर्न सहकारीको माग छ ।

सहकारीताको मर्म, सिद्धान्त र आचरण विपरित हुने जुनसुकै क्रियाकलापलाई अपराधजन्य कार्य मानी नियन्त्रणका लागि ठोस कदम चाल्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सहकारी क्षेत्रको अनुगमन, नियमन र सहजिकरणका लागि पालिकामा प्रभावकारी संयन्त्र निर्माण गरी दक्ष जनशक्तिको व्यवस्था गरियोस्, विभिन्न बाहानामा सहकारीको बदनाम गराउन खोज्नेको निगरानी राख्दै त्यस्ता तत्वलाई निरुत्साहित गर्न योजना र कार्यक्रम तय गरी कार्यान्वयन गरियोस् भन्ने लगायतका १० बुँदे माग ज्ञापनपत्रमा गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख कृष्ण खाँणले सहकारीमा भएका समस्या कसरी समाधान गर्न सकिन्छ भनेर लाग्ने बताए । सहकारीका सम्बन्धमा नगरपालिका गम्भीर रहेको भन्दै नगर प्रमुख खाँणले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।

उनले आगामी आर्थिक वर्ष सहकारीका लागि बजेटको व्यवस्था गरिने विश्वास व्यक्त गरेका छन् । नियमनकारी भूमिकामा स्थानीय तह रहेको उल्लेख गर्दै नगर प्रमुख खाँणले यसमा वालिङ नगरपालिका गम्भीर रहेको बताए ।

You might also like

Comments are closed.