व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी

भजनी (कैलाली) । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकीछिन् । व्यावसायिक च्याउखेतीमा लागेकी चौधरीले गाउँमा नमुना किसानको परिचय बनाउन सफल बनेकीछिन् ।

विसं २०७६ मा सुरु गरेको च्याउखेतीले उनलाई सफल किसान बनाएको छ । उनले व्यवसायलाई बढाउँदै लगेकिछन् । “मैले सिजनअनुसार ६ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन । उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन । घरबाटै सबै बिक्री हुन्छ”, उनले भनिन् ।

चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आएकीछिन् । गर्मीमा ब्लुक्याप, पिङ्की च्याउ उत्पादन गर्दै आएकी उनले बर्खामा दुधेच्याउ लगाउँदै आएको बताउँछिन् । लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक रु ७ लाखसम्म आम्दानी हुने गरेको उनले बताइन् ।

jutta mela

“लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु”, उनले भनिन्, “परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु ।”

च्याउखेतीमात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आएकी उनको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । “च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु ।

तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक रु चारदेखि पाँच लाख आम्दानी हुन्छ”, उनले भनिन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाएकी उनलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ ।

जानकी गाउँपालिका–४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा छन् । उनले च्याउखेतीमा करिब रु ५० लाख लगानी गरिसकेका छन् । व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उनले व्यवसाय वृद्धिमा नै लगाएका छन् ।

“मैले ९ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो । करिब रु ५० लाख लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो । अबको आम्दानी बचतमा जान्छ”, उनले भने ।

च्याउखेतीका लागि उनले एसी प्लान्ट जोडेका छन् । जहाँ एकैपटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ । च्याउखेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त छन् । उनले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आएका छन् ।

जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गरिन् । पढ्दै खेतीमा लागेकी उनले एन्जिल चौधरीबाट सीप सिकेकी हुन् । साथीहरूबाट सिकेको ज्ञानसँगसँगै स्नातक तहको अध्ययन सकिन् भन् व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लागेकिछिन् । परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्यो । अब स्नातकोत्तर संगै व्यवसायलाई पनि निरन्तरता दिने उनको सोँच छ ।

बाह्र महिना च्याउ उत्पादनमा लागेकी उनले ठूलो धनराशि लगानी गरेकी छैनन् । यो वर्ष रु एक लाख लगानी गरेको उनको च्याउ खेतीबाट रु ६ लाख आम्दानी भएको छ । “च्याउखेतीमा खासै लगानी छैन । त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैँसँग हुन्छ प्लास्टिक किन्नुपर्छ । लगानीभन्दा आम्दानी तेब्बर छ”, उनले अनुभव सुनाइन् । उनको परिवारका ५ जना च्याउखेतीमा नै व्यस्त छन् । रासस

You might also like

Comments are closed.