विद्यार्थीलाई उत्प्रेरित गर्न ५ लाखको अक्षयकोष स्थापना

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उनकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा रु ५ लाखको अक्षयकोष स्थापना गरेका छन् ।

राई दम्पतिका जेठा छोरा बेलायती सेनाका पूर्वमेजर मिलन राई, कान्छा छोरा रामचन्द्र राई र छोरीहरु अनुता राई, अविसरा राई, अन्जना राई र अम्बिका राईले आफ्ना बुबाआमाको सम्मानमा रु ५ लाखको ‘दलसेर–चामकुमारी राई शैक्षिक अक्षयकोष’ स्थापना गरेका हुन् ।

jutta mela

अक्षयकोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजले वार्षिक रुपमा एकजना उत्कृष्ट विद्यार्थी, सधै विद्यालयमा उपस्थित हुने विद्यार्थी र कक्षा–७ को वार्षिक परीक्षामा सबैभन्दा अधिक अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने गरी अक्षयकोष स्थापना भएको विद्यालयले जनाएको छ ।

बाम्राङमा जन्मिएर बेलायतलाई कर्मभूमि बनाउँदै आएका राई दम्पतिका सन्तानले अक्षयकोष सञ्चालनका लागि स्थानीय सहवीर राईको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा जमानसेर राई, सचिवमा प्रदीप राई, सहसचिवमा सीता खत्री, कोषाध्यक्षमा सोही विद्यालयका प्रधानाध्यापक विमला सुन्दास तथा सदस्यहरुमा प्रेमचन्द्र थापा र राजबहादुर पाण्डे छन् ।

कक्षा–८ सम्म अध्ययन–अध्यापन हुँदै आएको उक्त विद्यालयमा दलसेर राई दुई कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेको बताइएको छ । रासस

You might also like

Comments are closed.