पाल्पाली समाज पोखराको २१ औँ साधारणसभा

पोखरा । पाल्पाली समाज पोखराको २१ औँ साधारणसभाले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा शनिबार भएको सभाले समाजका पूर्व अध्यक्ष एवं विधान संशोधन समिति संयोजक जगदीश गौतमले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत् पारित गरेको हो । जसअनुसार समाजको कार्यसमिति अब १५ सदस्यीय मात्र हुनेछ ।

गएको अधिवेशनबाट २७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । कार्यसमितिमा अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष तथा बाँकी ८ सदस्य निर्वाचित हुनेछन् । कार्यकाल २ वर्ष यथावत् हुनेछ ।

प्रमुख अतिथि समाजका सल्लाहकार डा.यज्ञमान शाक्यले कार्यक्रम उद्घाटन गर्दै समाजको गतिविधिको प्रशंसा गरेका थिए । उनले कामकाजी छोराछोरीका कारण वृद्ध बाबुआमा सहाराविहीन हुन पुगेको जनाउँदै आफूले १० वर्षअघि आनन्दित गृह स्थापना गरेको बताए ।

समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेलले समाजको आर्थिक गतिविधिमाथि प्रकाश पारेका थिए । समाजका अध्यक्ष बालचन्द्र परियारले समाजको गतिविधि एवं भावी योजनासहितको प्रतिवेदन र कोषाध्यक्ष पदमप्रसाद पोखरेलले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका छन् ।

समाजका अध्यक्ष परियारको अध्यक्षतामा भएको सभामा समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार ताराप्रसाद पोखरेल, सल्लाहकार समिति संयोजक जनपुकार मुनकर्मी लगायतले पाल्पाली समाजले गरेको कामका बारेमा चर्चा गरेका छन् ।

समाजले यसअघि गरेका विविध कार्यक्रमका संयोजकलाई प्रशंसापत्र प्रदान गरिएको थियो । साथै समाजद्वारा प्रकाशित भित्तोपात्रो–२०८१ विमोचन गरिनुका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको छ । अनुपमान कर्माचार्यको संयोजकत्वमा भित्तेपात्रो प्रकाशन गरिएको वरिष्ठ उपाध्यक्ष श्रीधर पराजुलीले बताए ।

२०५१ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको पाल्पाली समाज सबैभन्दा पुरानो सम्पर्क समाज हो । समाजको पहलमा स्थापित पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड. सञ्चालित छ । साथै पाल्पा हाउस र पाल्पा कोलेनी जन्मिएका हुन् ।

You might also like

Comments are closed.