तनहुँमा ८ वटा सिँचाइ योजना सम्पन्न

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा ८ वटा सिँचाइ योजना सम्पन्न गरेको छ । चालु आवको हालसम्म ५ सिँचाइ र ३ वटा तटबन्धनका योजना सम्पन्न गरेको कार्यालयले जनाएको छ ।

शुक्लागण्डकी–६ स्थित ज्याम्दी खोलामा करिब २३३ मिटर लामो सिँचाइ योजना सम्पन्न भएको छ । उक्त योजनामार्फत १५ हेक्टर क्षेत्रफल सिँचाइ सुविधा पुग्दा ३० घरधुरी लाभान्वित भएका सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर विनोद केसीले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारको रु १२ लाखको लागतमा उक्त योजना सम्पन्न भएको हो ।

जिल्लाको घिरिङ गाउँपालिका–३ स्थित फडुवा छबिसेमा २४५ मिटर लामो सिँचाइ कुलो निर्माण पश्चात् ५० घरधुरी लाभान्वित भएका केसीले बताए । बन्दीपुर–१ मा देवीखोलामा खहरे सिँचाइ योजना सम्पन्न गरिएको छ । स्थानीय देवीखोलाबाट १८ सय मिटर लामो पाइपलाइनबाट पानी ल्याएर २० वटा धारा निर्माण गरिएको उनको भनाइ छ ।

कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठका अनुसार चालु आवमा २ ट्याङ्की र ६० वटा धारा निर्माण गर्नुपर्नेमा बजेट अभावका कारण एक ट्याङ्की र २० धारा मात्रै निर्माण गरिएको छ । मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा ८५ घरधुरी लाभान्वित हुने उनले बताएका छन् ।

jutta mela

इन्जिनियर श्रेष्ठका अनुसार व्यास–६ स्थित अम्रेनी काफ्ले फाँटमा ३४५ मिटर लामो पक्की कुलो निर्माण गरिएको छ । उक्त स्थानमा यसअघि माटोको कुलो रहेकाले रु २० लाखको लागतमा पक्की कुलो निर्माण गरिएको उनको भनाइ छ । म्याग्दे–७ स्थित बिर्ता कुलो सिँचाइ योजनाअन्र्तगत १९० मिटर लामो कुलो रु १० लाखमा निर्माण गरिएको भन्दै यसबाट २५ घरधुरी लाभान्वित हुने उनले जानकारी दिए ।

भीमाद–८ क्याङदी खोलामा करिब २५ मिटर लामो तटबन्ध निर्माण गरिएको छ । उक्त तटबन्ध निर्माण पश्चात् बस्ती र खेत संरक्षण भएको स्थानीय बताउँछन् । गण्डकी प्रदेश सरकारको रु २० लाखको लागतमा सम्पन्न भएको योजनाबाट करिब दुई सय घरपरिवार लाभान्वित भएका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख प्रकाश लम्सालले जानकारी दिए ।

उनका अनुसार भीमाद–२ स्थित मैदीखोला कुडुल्नेमा रु १० लाखमा निर्माण गरिएको तटबन्धबाट ५० घरधुरी लाभान्वित भएका छन् । उक्त तटबन्ध करिब ४० मिटर लामो छ ।

“व्यास–११ मा एक सय मिटरको पक्की बाँध रु १० लाखमा निर्माण गरिएको छ । उक्त बाँधबाट २० घरधुरी लाभान्वित भएका छन्”, उनले भने । निर्माणाधीन अवस्थामा रहेका एक सय योजनामध्ये चालु आवमा ६० वटा सम्पन्न गर्ने लक्ष्य राखिएको डिभिजन प्रमुख लम्सालले जानकारी दिए । रासस

You might also like

Comments are closed.