झापामा मकैको व्यावसायिक खेती बढ्दै

झापा । झापा गाउँपालिका जिल्लाको सबैभन्दा बढी मकैखेती हुने पालिकाका किसानले आकर्षक आम्दानी गर्न थालेपछि व्यावसायिक मकैखेती विस्तार गरेका छन् ।

झापा पालिकामा बर्षेनी मकैखेती गर्ने किसानको सङ्ख्या क्षेत्रमा बढिरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतननाथ भण्डारीले बताए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा जिल्लामा ४४ हजार २५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती गरिएको थियो भने दुई लाख २५ हजार ६७५ मेट्रिक टन उत्पादन भएको थियो ।

“पालिकाभित्र बाँझो जमिन देखिन छाडेको छ”, उनले भने, “किसान उत्साहित छन् कतै मकै पाक्न थालेको छ कतै हुर्किरहेको देखिन्छ” । गत वर्ष केन्द्रले किसानलाई ब्लक, पकेट क्षेत्रमार्फत अनुदान उपलब्ध गराएर मकैखेतीको विस्तार गरेको थियो ।

jutta mela

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पाँच सय हेक्टर जमिनमा झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकै जोन कार्यक्रम सञ्चालन भइरहेको छ । झापा गाउँपालिकाले मकै, धान र तरकारीखेती गर्ने किसानलाई सिँचाइमा लाग्ने विद्युत् महसुलवापत ६० प्रतिशत रकम आफैँ भुक्तानी गर्दै आएको छ । यस पालिकाको सात हेक्टर जमिनमा उन्नत जातको मकैखेती हुँदै आएको पालिकाकी कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले बताइन् ।

कार्यवाहक अध्यक्ष थपलियाले मकैको पकेट, ब्लक क्षेत्र घोषणा गरेर मकैको व्यावसायिक खेतीमा पालिकाले प्रवर्द्धन गरिरहेको बताउँछिन् । कृषि शाखामार्फत किसानलाई मकैखेतीतर्फ आकर्षित गर्न आवश्यक मल, बीउ, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिँचाइका लागि मोटर अनुदानमा प्रदान गरिरहेको उनको भनाई छ । रासस

You might also like

Comments are closed.